इपिएल : ब्याटिङमा विदेशी र बलिङमा स्वदेशी खेलाडीको दबदबा

यतिबेला नेपालकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (एपिएल)को चौंथो संस्करण चलिरहेको छ ।

असोज ९ बाट सुरु भएको लिग असोज २३ गते सकिनेछ । लिगमा हालसम्म समाप्त भएका खेललाई हेर्ने हो भने ब्याटिङमा विदेशी र बलिङमा स्वदेशी खेलाडीको दबदबा देख्न सकिन्छ । शीर्ष पाँच ब्याट्सम्यानभित्र एकमात्र नेपाली खेलाडी अटाएका छन् भने बलिङतर्फ ३ खेलाडी छन्। 

इपिएलको चौंथो संस्करणमा हालसम्मको ब्याटिङ प्रदर्शनलाई हेर्ने हो भने विदेशी खेलाडीको दबदबा देखिन्छ । लिगमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा एक मात्र खेलाडी अटाउनुले पनि यसको पुष्टि गर्छ ।

निकै आशा गरिएका कुशल भुर्तेल, विनोद भण्डारी, कुशल मल्ल, शरद भेषवाकरजस्ता नेपाली खेलाडीको ब्याटबाट रन निस्कन सकेको छैन । केही युवा खेलाडीले आशलाग्दो प्रदर्शन गरे पनि विदेशी खेलाडीको तुलनामा उनीहरू फिक्का देखिएका छन् ।  

ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका पाँच खेलाडी

सन्दुन विराकोडी 



श्रीलंकन खेलाडी सन्दुन विराकोडीले ललितपुर प्याट्रियट्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहेका उनले ५ खेलमा २ अर्धशतकसहित १७७ रन बनाएका छन् । 

विराकोडीले लिगमा १६ चौका र ९ छक्का प्रहार गरेका छन् । ७३ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो । 



विराकोडीले कठमाडौँ किंग्स-११, पोखरा राइनोज र चितवन टाइगर्स विरुद्धको खेलमा क्रमशः २, १९ र १४ रन प्रहार गरे ।

उनले भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स विरुद्ध भने अर्धशतक प्रहार गरे । यी खेलमा उनले क्रमशः ५८ र ७३ रन बनाए ।  

मोहम्मद शेहजाद

अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शेहजाद सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो सूचीमा छन्  ।

चितवन टाइगर्सलाई प्ले अफमा पुर्‍याउन महत्वपूर्ण भूमिका निवार्ह गरेका शेहजादले ५ खेलमा १ अर्धशतकसहित १४८ रन बनाएका छन् । 

१८ चौका र ६ छक्का प्रहार गरेका शेहजादको उत्कृष्ट प्रदर्शन अविजित ६३ रन बनाउनु हो ।
शहजादले विराटनगर, काठमाडौँ, ललितपुर र भैरहवा विरुद्ध क्रमशः १, १७, ३५ र ३२ रन बनाएका थिए । 

उनले एकमात्र अर्धशतक पोखरा विरुद्ध प्रहार गरेका हुन् । यो खेलमा उनी ६३ रनमा अविजित रहे ।

उपुल थरंगा

भैरहवा ग्लाडियटर्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका श्रीलंकाका पूर्वकप्तान थरंगाले ४ खेलमा १ अर्धशतकसहित १४० रन बनाएका छन् ।  

लिगमा १३ चौका र ६ छक्का प्रहार गरेका थरंगाको उत्कृष्ट प्रदर्शन अविजित ६७ रन बनाउनु हो।

थरंगाले विराटनगर र चितवन विरुद्ध क्रमश: ३४ र ३९ रन बनाए । उनले ललितपुर विरुद्ध ६७ रनको अविजित पारी खेले ।

पोखरा विरुद्धको खेल वर्षाका कारण रद्द हुँदा थरंगालले ब्याटिङको माैका पाएनन् ।
 
भिम सार्की

भिम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष पाँचभित्र अटाउने एक्ला नेपाली हुन् । चितवनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका उनले ५ खेलमा १ अर्धशतकसहित १३३ रन प्रहार गरेका छन् । 

लिगमा १५ चौका र ४ छक्का प्रहार गरेका भीमको उत्कृष्ट प्रदर्शन अविजित ५४ रन बनाउनु हो। 
भीमले विराटनगर, काठमाडौँ, ललितपुर र भैरहवा विरुद्ध क्रमश: ३०, ६, २७ र १६ रन बनाए । उनले पोखराविरुद्ध अविजित ५४ रनको पारी खेले । 

सिकन्दर राजा

इपिएलमा विराटनगरको प्रदर्शन सम्झन लायक नरहे पनि जिम्बावेका अल राउन्डर सिकन्दर राजाले पनि उत्कृष्ट प्रदर्शन गरे । 

टोलीलाई प्ले अफसम्म पुर्‍याउन नसके पनि राजाले ५ खेलमा १ अर्धशतकसहित १२९ रन बनाएका छन् । 

६ चौका र १२ छक्का प्रहार गरेका राजाको उत्कृष्ट प्रदर्शन ६७ रन बनाउनु हो ।

राजाले भैरहवा, ललितपुर, काठमाडौँ र पोखरा विरुद्ध क्रमश: ५, २४, ४ र २९ रन बनाए । उनले चितवनविरुद्ध ६७ रनको पारी खेलका थिए । बलिङतर्फ उनले चार विकेट हात पारेका छन् ।

बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका पाँच खेलाडी

इपिएलमा नेपाली युवा बलरले उत्कृष्ट दर्शन गरिरहेको भए पनि स्टार मानिएका सन्दीप लामिछाने, सोमपाल कामी, करण केसीजस्ता खेलाडीको प्रदर्शन भने उल्लेखनीय रहन सकेको छैन । बलिङतर्फ शीर्ष ५ मा ३ नेपाली खेलाडी छन् ।

सागर ढकाल

चितवनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका स्पिनर सागरले ५ खेलमा ५.७३ को इकोनोमी रेटमा ९ विकेट हात पारेका छन् ।

उनले इपिएलमा १९ ओभर बलिङ गर्दा १०९ रन खर्चिएका छन् । २१ रन खर्चिएर ४ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । 

सागरले विराटनगर र ललितपुरविरुद्ध समान २, भैरहवा र काठमाडौँ विरुद्ध क्रमश: १ र ४ विकेट लिए । उनी पोखराविरुद्ध भने विकेटविहीन बने ।

अविनाश बोहरा

भैरहवाका तीव्र गतिका बलर अविनासले ४ खेलमा ८.७० को इकोनोमी रेटमा ८ विकेट हात पारेका छन् ।

उनले इपिएलमा १३.४ ओभर बलिङ गर्दा ११९ रन खर्चिएका छन् । ३८ रन खर्चिएर ३ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । 

अविनास विराटनगर र ललितपुरविरुद्ध समान २, पोखरा र चितवनविरुद्ध क्रमश: १ र ३ विकेट हात पारेका छन् ।

करिम जन्नत 

चितवनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेको मध्यम गतिका अफगानी बलर करिमले ६.४ को इकोनोमी रेटमा ८ विकेट हात पारेका छन् । उनले १९ ओभर बलिङ गर्दा १२२ रन खर्चिएका छन् । १८ रन दिएर २ विकेट लिनु जन्नतकाे उत्कृष्ट प्रदर्शन हो ।

जन्नतले भैरहवा, काठमाडौं, विराटनगर र ललितपुरविरुद्ध समान २ विकेट लिँदा पोखराविरुद्धको खेलमा भने विकेटविहीन बने ।

कमलसिंह ऐरी

चितवनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका तीव्र गतिका बलर कमलले ५ खेलमा ६.६६ को इकोनोमी रेटमा ८ विकेट हात पारेका छन् ।

कमलसिंहले इपिएलमा १८ ओभर बलिङ गर्दा १२० रन खर्चिएका छन् । ११ रन खर्चिएर ३ विकेट हात पार्नु उनको उत्कृष्ट प्रदर्शन हो । 

उनले विराटनगर र पोखराविरुद्ध समान २ विकेट, काठमाडौंविरुद्ध एक विकेट लिए । यसैगरी कमलसिंहले ललितपुरविरुद्ध ३ विकेट लिए ।

अजमतुल्लाह ओमरजाई

अफगानिस्तानका अलराउन्डर ओमरजाइले इपिएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ललितपुरका लागि ४ खेलमा ७.९२ को इकोनोमी रेटमा ७ विकेट हात पारेका छन् । 

ओमरजाईले १४ ओभर बलिङ गर्दा १११ रन खर्चिएका छन् । ४२ रन दिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो ।

ओमरजाइले पोखराविरुद्ध १ विकेट हात पार्दा चितवन र विराटनगर विरुद्ध क्रमश २ र ४ विकेट लिएका छन् । उनी भैरहवासँगको खेलमा भने विकेटविहीन बने । 

ओमरजाईले ललितपुरका लागि ४ खेलमा १ अर्धशतकसहित १०९ पनि रन बनाएका छन्।  
 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १५:६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया