सिरिया समस्याको राजनीतिक समाधान खोज्न सुरक्षा परिषद् सहमत

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् सिरियाको समस्या राजनीतिक रूपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ । परिषद्का सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको छ । तर, पनि त्यो राजनीतिक समाधानको मोडल कस्तो हुने र त्यसका लागि आवश्यक पर्ने नयाँ संविधान निर्माणका लागि कस्तो मस्यौदा गर्ने भन्नेबारे भने एकमत नभएको बताइएको छ । 
 
सिरियाको समस्याको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा त सबै सहमत छन्, तर त्यो समस्या समाधानको नमुना कस्तो हुने भन्ने विषयमा भने एकमत हुन सकेका छैनन् । शुक्रबारको परिषद् बैठकमा यस विषयमा सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डी मिस्तुराले सो विषयमा जानकारी दिएका हुन् । सो विषयमा जानकारी दिँदै उनले भने, ‘समस्या समाधानका लागि सिरियाको सरकारसँग पनि कुराकानी भएको छ, र राजनीतिक रूपमा समस्या हल गर्नेबारे मैले कुरा गरेको छु । 

विशेषदूत मिस्तुराले हालै मात्र सिरियाली विदेशमन्त्री वालिद मुआलिमसँग कुराकानी गरेका थिए । त्यस भेटवार्ताबारे उनले शुक्रबार भएको सुरक्षा परिषद्को बैठकमा जानकारी गराएका थिए ।  

त्यो संविधान मस्यौदाका लागि सिरियाली सरकारले सरकारी प्रतिनिधि, सिरियाली विपक्षी राजनीतिक दल र नागरिक समाजकातर्फबाट प्रतिनिधित्व गराइनुपर्ने मोडलमा कुराकानी गरेको विशेषदूत मिस्तुराले जानकरी दिए । त्यसअनुसार काम गर्दा सरकार, विपक्षी दल र नागरिक समाजका तर्फबाट सबैका ५० जना गरी १ सय ५० जनाको समूहले काम गर्न सक्ने अनुमान गरिएको छ । 

सिरियामा विगत लामो समयदेखि गृहयुद्ध जारी छ । यसका कारण लाखौँ नागरिकको ज्यान गएको छ भने अरू लाखौँजना घरबारविहीन भएर विदेशी भूमिमा शरणार्थीका रूपमा बसेका छन् । यो समस्या संसारकै टाउको दुखाइको विषय भएको छ ।
 
सिरियाली समस्या कसरी सममाधान गर्ने भन्ने विषयमा अहिलेसम्म संयुक्त राष्ट्रसंघले पनि विभिन्न मोडेलमा काम गरिरहेको बताइएको छ । तर, त्यसको ठोस समाधानका लागि अहिलेसम्म कुनै उपाय भने निकाल्न संयुक्त राष्टसंघ पनि सफल हुन सकेको छैन । 
 





  • प्रकाशित मिति : कात्तिक १०, २०७५ शनिबार १४:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया