१ लाख ६० हजारमा श्रीमानबाटै बेचिएकी थिइन् श्रीमती

छोराछोरी पाँचजना थिए । खानलगाउन समस्या थियो । कुरा २०७१ को हो । परिवर्तित नाम २६ वर्षीया श्रीमती ‘रानीमाया’ लाई परिवर्तित नाम ‘राजबहादुर’ ले ‘काम गर्नू, पैसा कमाउनुपर्छ, काममा लगाउँछु’ भने ।

रानीमायाले ‘हुन्छ’ भनिन् ।  तर, राजबहादुरको योजना काममा लगाउने थिएन । बेचिदिने थियो । रानीमाया यसबारे भने जानकार थिइनन् । त्यही भएर राजबहादुरले बहाना बनाएर काम खोज्न लगाउँछु भन्दै साथी पासाङ तामाङलाई बोलाए । 

पासाङ आए । र, कामका लागि उनीसँगै रानीमायालाई पठाए । जतिबेला राजबहादुरले पासाङबाट भने १ लाख ६० हजार रुपैयाँ लिए । जुन रानीमायाको शरीरको मोल वापतको हो । 

त्यसबारे रानीमाया भने अञ्जान थिइन् । हुन पनि कसैले नभनुञ्जेल कसलाई पो थाहा हुन्छ र ! अर्कोतिर उनीहरू श्रीमान/श्रीमती । त्यसमाथि प्रेम विवाह । श्रीमान् राजबहादुरप्रति रानीमाया विश्वस्त थिइन् । सोहीकारण उनले शंका गरिनन् । र, उनी पासाङसँग कामका लागि गइन् । 

रानीमायालाई पासाङले बालाजुको एक होटलमा पुर्‍याए । जहाँ होटल सञ्चालक महिला थिइन् । पासाङले उनलाई काममा लगाइदिन जिम्मा लगाए ।  

कामको पर्खाइमा होटल सञ्चालक महिलाकै कोठामा रानीमाया तीन दिन बसिन् । चौथो दिनमा महिलाले भिनाजु भन्दै एक पुरुषलाई बोलाइन् । ती पुरुषले ‘घरायसी काम हो, मासिक तलब १० हजार दिन्छ’ भने । मञ्जुर भइन् रानीमाया । पुरुषले काममा लगाइ दिन भनेर सुनौली नाका हुँदै रेलबाट नयाँ दिल्लीस्थित म्हेन्दो तामाङको घरमा पुर्‍याए । 



रानीमायालाई काम पाइने ठाउँ आइपुगियो भन्ने लाग्यो । तर, कामविना म्हेन्दोको घरमा तीन दिन बस्नुपर्‍यो । त्यसपछि एक मान्छेलाई बोलाएर म्हेन्दोले उनलाई जिम्मा लगाइन्  । 

ती पुरुषले रानीमायालाई आग्रामा पुर्‍याए । त्यसबेलासम्म पनि उनलाई काम पाइन्छ भन्ने आशा थियो । घरमा सजिलो काम पाइएला भन्ने रानीमायाको मनमा थियो । 



तर, उनलाई वेश्यालयमा पुर्याइयो । सँगै जीवन जिउने सपना बुनेर विवाह गरेकै श्रीमानकै कारण रानीमाया वेश्यालय पुग्नुपरेको हो । उनले नारकीय दिन बिताउनुपर्‍यो । जहाँ आठ महिनासम्म रानीमाया रहिन् । त्यसपछि म्हेन्दोले नै ‘दाइ आउनु भएको छ’ भनेर झुक्याएर नयाँ दिल्ली ल्याइन् । 

त्यहाँ ६४ नम्बरको कोठीमा राखेर पुनः उनले वेश्यावृतिमै लगाइन् । पाँच वर्ष बढी बस्नु बाध्य भइन् । अन्ततः उनी नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा गएको जेठ ३१ मा उद्धार भइन् । त्यसपछि उनले आफूलाई रोजगारीको नाममा वेश्यावृत्तिमा पुर्‍याउने श्रीमानदेखि जो जो संलग्न भए उनीहरूविरुद्ध मानव बेचविखन तथा अनुसन्धान ब्यूरोमा जाहेरी दिइन् । रानीमायालाई जोहरी दिन शक्ति समूहले सहयोग गर्‍यो । तत्कालै ब्यूरोकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले खोजीका लागि प्रहरी टोली खटाइन् । 

टोलीले यही असोज १३ गते बेचविखन गराउने श्रीमान् र १४ गते पासाङलाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता अनुरागकुमार द्विवेदीले पक्राउ परेका दुवैविरुद्ध मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको बताएका छन् ।  
 

  • प्रकाशित मिति : असोज १९, २०७८ मंगलबार १६:८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया