\
कोरोना महामारी कम भएसँगै प्रदेश–१ का शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
कोरोना महामारीका कारण अघिल्लो बर्ष सरकारले मठ मन्दिर खुल्ला नगर्दा दशैंका बेला समेत शक्तिपीठहरुमा भक्तजन गएका थिएनन् । यस बर्ष सरकारले मठ मन्दिर खुल्ला गरेसँगै भक्तजनको चहलपहल बढेको हो ।
सुनसरीको धरान स्थित दन्तकाली मन्दिरमा नवरात्रीमा भक्तजनको संख्या बढेको दन्तकाली मन्दिर गुठी ब्यवस्थापन समितिका सचिब विश्वमणि खनालले बताए ।
मन्दिरका पुजारी समेत रहेका खनालले यस बर्ष घटस्थापनादेखि नै भक्तजनहरु आएको र आउने क्रम जारी रहेको बताए ।
दैनिक १५ सय भन्दा बढि भक्तजन मन्दिरमा दर्शन गर्न आएको उनले बताए । दन्तकाली मन्दिर धरान नगरपालीका–१४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ ।
यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ ।
उक्त मन्दिरमा सतीदेवीका दाँतको प्रतीक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा नवरात्रीका बेला बोका, राँगा आदिको बली दिने चलन छ ।
मन्दिरमा हरेक अष्टमीमा बोका बलि दिने प्रचलन रहेको छ । नवरात्रीका बेला दन्तकालीको दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वासका साथ प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन् ।
यो मन्दिरको बारेमा स्वस्थानी ब्रत कथामा पनि उल्लेख भएको पाइन्छ ।
दन्तकालीको मन्दिर वि.सं. २०३५–३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भव्य तले शैलीको मन्दिर बनाइएको छ ।
दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् ।
यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ ।
यसैगरि धरान स्थित बूढासुब्बा मन्दिरमा पनि यस बर्ष भक्तजनको घुइँचो लागेको छ ।
यसैगरि धरानकै बूढासुब्बा मन्दिरमा पनि अघिल्लो बर्षको तुलनामा ४ गुणा बढि भक्तजन आएको पुजारी उत्तम आलेले बताए ।
बूढासुब्बामा बैशाखी पूर्णिमा र दशैको नवमीको दिन बिशेष पूजा हुने गरेको छ । यहाँ नवमीका दिन पशु बलि दिए मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।