नेताकाे स्वास्थ्य : अधिकांश नेता उच्च रक्तचापका रोगी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनदेखि अस्वस्थ छन् । 

सुरुमा सामान्य रुघाखोकी भनिए पनि आइतबार उनी उपचारका लागि अस्पताल भर्ना भए । उनको स्वास्थ्य अवस्थाको जानकारी लिन र शीघ्र स्वास्थ्यलाभको कामना गर्न यतिवेला सयौँ नेता–कार्यकर्ता अस्पताल धाइरहेका छन् । 

अस्पतालले सोमबार निकालेको विज्ञप्तिअनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । छातीमा केही संक्रमण भएको र सामान्य रुघाखोकीले सताएपछि अस्पताल लगिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको दुवै मिर्गौलाले काम नगरेपछि यसअघि नै मिर्गौला प्रत्यारोपण गरिसकिएको छ । झन्डै एक दशकअघि भारतको अपोलो अस्पतालमा ओलीले मिर्गौला प्रत्यारोपण गराएका हुन् । त्यसयता उनले नियमित रूपमा अपोलो गएर स्वास्थ्यपरीक्षण गराउँदै आएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि खाने औषधिले रक्तचाप, सुगर र युरिक एसिडसमेत बढाउन सक्ने र संक्रमणको जोखिम पनि बढी हुने भएकाले धेरै मानिससँग सम्पर्कमा नरहन उनलाई चिकित्सकले सुझाब दिएका थिए । तर, पछिल्लो राजनीतिक घटनाक्रमको चापसँग टाढा नभएका प्रधानमन्त्री ओली पुनः बिरामी परेका हुन् । 

गत ७ फागुनमा पूर्वप्रधानमन्त्री तथा नेकपा केन्द्रीय सचिवालय सदस्य झलनाथ खनाल उपचारका लागि चीन उडे । चीनको सिन्चाउस्थित ‘अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्स’मा उनको प्याराथाइड र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरियो ।



उनको शल्यक्रिया ११ फागुनमा भएको थियो । उनी १० दिन अस्पतालमा आराम गरेर स्वदेश फर्किए । 

उता, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि उपचारका लागि चाँडै बैंकक जाँदै छन् । गर्धनमा देखिएको समस्याको नेपालमा उपचार हुन नसकेपछि उनी बैंकक जाने भएका हुन् । उनी बैंकक जाने कुरा प्रदेश १ को मन्त्रिपरिषद्ले पारित गरिसकेको छ ।



संघीय सरकारले अनुमति दिएमा १६ कात्तिकमा उनी बैंकक जाने कार्यक्रम रहेको प्रदेश १ को मुख्यमन्त्रीको सचिवायले जनाएको छ । प्राप्त जनकारीअनुसार मुख्यमन्त्री राईलाई गर्धन लुलो हुनाका साथै टाउको धेरै हल्लने समस्या छ । 

यी त पछिल्लो समय देखिएका प्रतिनिधि घटना मात्र हुन् । नेपालको राजनीतिक इतिहासलाई नियाल्ने हो भने धेरै पहिलेदेखिका मन्त्री तथा शीर्ष तहका नेताहरू केही न केही रोगबाट ग्रसित छन् ।

नेपाली राजनीतिमा सक्रिय नेताहरू कति स्वस्थ छन् त ? सबैको चासोको विषय बन्न पुगेको छ । 

केही समयअघि नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ उक्त रक्तचाप र मुधमेहबाट ग्रसित भएका थिए । डा. दामोदर गजुरेलले उनको नियमित जाँच गर्दै आएका छन् । डा. गजुरेलकै सुझावमा उनले मधुमेह र उच्च रक्तचापको नियमित औषधि लिएका थिए । 

तर, अध्यक्ष दाहालको सचिवालयका अनुसार अहिले उनी स्वस्थ छन् । अहिले अध्यक्ष दाहालले सुगरको औषधि छोडेका छन् भने रक्तचापको औषधि अझै लिइरहेका छन् ।

सचिवालयका अनुसार उनी अहिले पनि नियमित व्यायाममा छन् । विशेषतः उनी टिटी खेल्न रुचाउँछन् । उनी नियमितजसो जगिङ गर्छन् । पहिले भएका रोगहरूबाट विस्तारै टाढा हुँदै गएको उनी स्वयं बताउँछन् ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पेट र उच्च रक्तचापको समस्याबाट ग्रसित छन् । केही समयअघिसम्म उनले सिंगापुरमा नियमित पेटको परीक्षण गराउँदै आएका थिए ।

उनलाई पछिल्लो समय खानपानमा विशेष ध्यान पुर्याउन चिकित्सकहरूले सुझाएका छन् । अहिले भने उनको स्वास्थ्यमा केही सुधार आएको पारिवारिक स्रोतको भनाइ छ । 

त्यस्तै, कांग्रेस नेता रामचन्द्र पौडेल पनि लामो समयदेखि सुगर, प्रोस्टेट, ढाड र युरिक एसिडको समस्याबाट ग्रसित छन् । उनलाई युरिक एसिडको समस्याको कारण कहिलेकाँही खुट्टामा समेत समस्या आउने गरेको छ ।

उनीनिकट एक नेताका अनुसार उनको युरिक एसिडमा भने अहिले सुधार आएको छ । पौडेलले केही समयअघि प्रोस्टेट र पायल्सको शल्यक्रिया गराएका थिए । 

नेकपा वरिष्ठ नेता माधव नेपाल पनि मुटु र फोक्सोसम्बन्धी रोगबाट पीडित छन् । चिकित्सको सुझाबअनुसार उनी नियमित योग र व्यायाम गरिरहेका छन् ।

केही समयअघि निमोनिया र पिसाबमा संक्रमण देखिएपछि उनी लामो समय अस्पताल भर्ना भएका थिए ।

  • प्रकाशित मिति : कात्तिक १२, २०७५ साेमबार २०:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया