युएई र ओमानमा जारी आइसिसी टि-२० विश्वकपमा शुक्रबार दुई खेल हुँदैछन् ।
पहिलो चरणअन्तर्गत आज हुने समूह ‘ए’का दुबै खेल युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ ।
पहिलो खेलमा आयरल्यान्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
सुपर १२ मा स्थान पक्का गर्न दुवै टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । आयरल्यान्डले पहिलो खेलमा नेदरल्यान्डलाई पराजित गर्दा श्रीलङ्कासँगको दोस्रो खेल गुमाएको थियो ।
श्रीलङ्कासँगको पहिलो खेल गुमाएको नामिबियाले दोस्रो खेलमा नेदरल्यान्डलाई हराएको थियो ।
दोस्रो खेलमा श्रीलङ्का र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति पानै आठ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा नामिबिया र आयरल्यान्डलाई पराजित गरेको श्रीलङ्का नेदरल्यान्डलाई हराउँदै शतप्रतिशत जितका साथ समूह विजेता बन्दै सुपर १२ को यात्रा तय गर्ने सोचमा हुनेछ ।
अघिल्ला दुवै खेलमा आयरल्यान्ड र नामिबियासाँग पराजय बेहोर्दै बाहिरिसकेको नेदरल्यान्ड पनि श्रीलङ्कालाई हराउँदै जितका साथ प्रतियोगिताको अन्त्य गर्ने दाउमा हुनेछ ।
यो समूहमा श्रीलङ्का ४ अंक जोडेर शीर्ष स्थानमा रहँदा समान २ अंक भए पनि नेटरनरेटका आधारमा आयरल्यान्ड दोस्रो र नामिबिया तेस्रो स्थानमा छन् । पुच्छरको नेदरल्यान्ड अंकविहीन छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।