गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने दुई अर्ब ५० करोडको बुद्धमूर्ति नेपाल आइपुग्यो

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यानमार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो ।

करिब दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने जनाएको छ । बुद्धमूर्ति म्यानमारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।

एक हजार ८०० किलो तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । आज कागजी प्रक्रिया मिलाएर शनिबार सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराई एयरपोर्टमा राख्ने तयारी गरिएको छ ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ, लुम्बिनी होटल संघलगायतका संघसंस्थाले बुद्धमूर्ति स्वागतका लागि भव्य तयारी गरेका छन् । विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको जनाइएको छ। 

यहीं कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मूर्तिकाे अनावरण गर्ने बताइएकाे छ । 

त्यसअघि कात्तिक १३ गते लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्ज्वलनसहित शान्तिको कामना गर्न स्पेनका सभामुखको नेतृत्वमा विषेश प्रतिनिधिमण्डल नेपाल आउने कार्यक्रम छ ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १३:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया