बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म : आश्वासन दिन्छन्, राहत बाँड्दैनन्

४ कात्तिक प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि भन्दै सुदूरपश्चिममा आए । उनले प्रदेशका विभिन्न जिल्लामा पुगेर तत्काल राहत बाँड्ने आश्वासन दिएका थिए । 

प्रभावित क्षेत्रमा पुगेर पनि प्रधानमन्त्री देउवाले पीडितलाई भने भेटेनन् । घर नजिकै आएर पनि प्रभावितलाई नभटेकोमा उनको चर्चा आलोचना पनि भइरहेको छ । 

प्रधानमन्त्री देउवा जिल्लाका उच्च पदाधिकारीहरूलाई भेटेर काठमाडौं फर्किएका थिए । उनीसँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि सुदूरपश्चिममा आएका थिए । बाढीपहिरो क्षेत्रमा स्वयम् आफू नै पुगे पनि त्यसबखत गरेका आश्वासनसमेत प्रधानमन्त्री देउवाले पूरा गरेका छैनन् ।  

संघीय सरकारबाट प्रधानमन्त्रीसहितको टोली प्रदेशमा आउँदा बाढीपहिरो प्रभावित निरीक्षणमा प्रदेशका कुनै पनि मन्त्री र सांसदको उपस्थिति थिएन । आफ्नै शैलीमा प्रधानमन्त्रीको टोलीले एकलौटी रूपमा प्रभावित क्षेत्रको निरीक्षण गर्‍यो । तर, सो टोलीको भ्रमणको उपलब्धि अहिलेसम्म प्रभावितले पाउन सकेका छैनन् । 
 
बझाङको थलारा गाउँपालिका डिक्लामा ४ कात्तिकमा प्रधानमन्त्रीको हेलिकोप्टर अवतरणका लागि पहिरोग्रस्त क्षेत्रको केहीमाथि हेलीप्याड पनि निर्माण गरिएको थियो । तर, प्रधानमन्त्री देउवा डिक्ला गएनन् ।  ‘दिपायलबाट डिक्ला आएर यतैबाट खप्तडछान्ना जाने भन्ने थियो । त्यसका लागि सम्पूर्ण तयारी पनि गरेका थियौँ,’ थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टले भने, ‘तर उहाँ आउनु भएन । उहाँ सिधैं चैनपुर जानुभयो ।’ 

डिक्लामा पहिरोमा पुरिएर २३ जना बेपत्ता भएका थिए । २३ मध्ये ४ जनाको शव मात्र भेटिएको छ । प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रका लागि शनिबार र आइतबार हेलिकोप्टर प्रयोग गर्‍यो । सरकारले हेलिकोप्टरमार्फत डोटी, बैतडी र बझाङमा राहतका चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाललगायत स्वास्थ्य सामग्री शनिबार नै पुगाएको हो । 



प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख आर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीलगायत राजनीतिक दलका प्रतिनिधिसहित १२ जनाभन्दा धेरै नेताहरू बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका थिए ।



‘प्रधानमन्त्री शेरबहादुर देउवा आउनुभयो, हेर्नुभयो, जानुभयो । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोली पनि आयो । हामीलाई राहत आवश्यक थियो । तर, उहाँहरूले पनि आश्वासन बाँडेर जानुभयो ,’ बैतडी शिवनाथ गाउँपालिका–५ का लोकबहादुर चन्दले भने, ‘हामीलाई सुरक्षित बासस्थान चाहिएको छ । गाँस र कपास पनि चाहिएको छ ।  हामी तीनै तहका सरकार हेलिकोप्टरमा आउँदा हर्षित भएका थियौं । हामीले राहत पाउँछौं भनेर आशा थियो । उहाँहरूले भाषणका पोका खोल्नुभयो, जानुभयो । र, हाम्रो राहत हवाइमार्गमै सक्नुभयो ।’

प्रदेश सरकारले पठाएको चामल, नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाललगायत स्वास्थ्य सामग्री गाउँपालिका कार्यालयमा थन्किएको छ । ‘राहत निकै कम छ, हामीले क्षतिको विवरण संकलन गरिरहेका छौँ, नागरिकहरूको आवश्यकता बुझेर हामी केही दिनमै राहत वितरण गर्छौँ,’ थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले भने ।

प्रदेश सरकारले राहत वितरणका नाममा पर्यटक बनेर मस्ती गरिरहेको खप्तडछान्नाका स्थानीय पुष्कर धामीले गुनासो गरे । ‘पीडितको विवरण संकलन भएकै छैन । सस्तो लोकप्रियताका लागि अन्धाधुन्ध राहत ल्याएर आए । तर, यो राहत विस्थापित भएकाहरूका लागि एकछाक पनि पुग्दैन । महँगो हेलिकोप्टर चार्टर गरेर पाँच क्विन्टल चामल दिनुभन्दा यतैबाट किनेर दिएको भए नि हुने,’ उनले भने ।

शनिबार प्रदेश सरकारले खप्तडछान्नामा पाँच क्विन्टल चामलसहित नुन, तेल, चिनी, साबुन, टुथपेस्ट, त्रिपाललगायतका स्वास्थ्य सामग्री दिएको हो । ‘राहत सामग्री अहिले वडा कार्यालयमा राखिएको छ । राहत सामग्री कम भएकाले कसलाई दिने कसलाई नदिने भनेर समस्या भएको छ,’ थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टले भने ।

बझाङमा बाढीपहिरोले सबैभन्दा ठूलो मानवीय क्षति थलारा गााउँपालिकामा भएको छ । बैभन्दा बढी भौतिक क्षति भने खप्तडछान्नामा भएको छ । खप्तडछान्नामा सयौँ रोपनी खेतीयोग्य जमिन बाढीले बगाएको छ । 

खेतमै काटेर सुकाउन लागेको धान र काट्न बाँकी रहेको धानसहितको खेत बगाएपछि छान्नावासीमा भोकमरी हुने चिन्ता छ । अहिलेसम्म खप्तडछान्नाको कालुखेतीमा ९, गडरायमा ४ र पाटादेवलमा १० परिवार घरबारविहीन भएका छन् । 

अन्य ६० परिवारको घर जोखिममा भएकाले आफन्तकोमा बस्दै आएका छन् । कतिपय गाँउकै विद्यालयमा आश्रय लिएर बसेका छन् । मौसममा सुधार आएपछि प्रदेश सरकारले राहत वितरणमा हेलिकोप्टर प्रयोग गरेको भनेर आलोचनासमेत भएको छ । 

‘तत्कालका लागि हेलिकोप्टरबाट राहत पुर्‍यायौँ’  

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले तत्कालका लागि राहत हेलिकोप्टरबाट राहत वितरण गरेको बताइन् । ‘वर्षाले सडक क्षतविक्षत भएका छन्’, प्रदेश सरकार प्रवक्तासमेत रहेकी मन्त्री जोशीले भनिन्, ‘सडक मार्गबाट तत्काल सम्भव नभएको क्षेत्रमा हेलिकोप्टरबाट राहत वितरण गरेको हो ।’ 


 
उनले राहत स्थानीय सरकारमार्फत वितरण गरिने बताइन् । ‘कुन ठाउँमा कति क्षति भएको छ अर्थात् कुन परिवारलाई राहत आवश्यक छ । त्यो स्थानीय सरकारलाई थाह छ’, उनले भनिन्, ‘प्रदेश सरकारले विपद्मा रहेका नागरिकलाई केही खाद्यान्न राहत पुगाएको हो ।’ 

अझै पनि आवश्यक भएका जिल्लामा प्रदेश सरकार राहत सामग्री पुर्‍याउन तयार रहेको उनले बताइन् । 

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १९:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया