कम्युनिस्ट आन्दोलनमा विद्रोहको राँको बालेका छौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा आफूहरूले विद्रोहको राँको बालेको दाबी गरेका छन् ।

मंगलबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आइपुगेका नेपालले यस्तो बताएका हुन् । सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा (एस) ले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत बताए । 

कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कदम चालेको उनको आरोप थियो । 

नेकपा एमाले अध्यक्ष ओलीले नेता महत्त्वपूर्ण ठानेर अगाडि बढेका तर आफूहरूले सधैँ नीति पहिलो भन्ने फरक मत प्रस्तुत गरेको उनले बताए । नेकपा एमाले अध्यक्ष ओलीले आफ्नो स्वार्थका लागि दुई तिहाइको सरकारलाई आफैँले कमजोर बनाएको आरोपसमेत नेपालले लगाए ।

 ‘दुई तिहाइको सरकारलाई कमजोर बनाउन पहिला माओवादीलाई अलग गराए’, उनले भने, ‘त्यसपछि हामीलाई समेत घोक्र्याएर पार्टीबाट निकाले ।’

ओलीले ठूला कुरा मात्र गरेको उनले दाबी गरे । काम एउटै नगरेर देशभर एकै पटक विभिन्न कार्यक्रम घोषणा गरेर गिनिजबुकमा नाम लेखाउने काम गरेको उनको भनाइ थियो । धेरै गफ गर्ने गफाडी प्रधानमन्त्रीका रूपमा केपी ओलीको गिनिज बुकमा नाम लेखिने भन्दै नेपालले ओलीको भनाइलाई खिसी गर्न पनि भ्याए । ‘ओलीले प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हेर्ने हो भने काम केही छैन, कुरा मात्र हो,’ नेपालले भने । 



नेता नेपालले आफूहरूसँग मत मिल्ने जुनसुकै पार्टीसँग एकता हुन सक्ने तर नेकपा एमालेसँग त्यस्तो कुनै संभावना नरहेको ठोकुवासमेत गरे । ‘यसमा जनताले निश्चिन्त भए हुन्छ,’ उनले भने । 



  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १९:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया