नेपाल फर्किन कसरी तयार भए अलमुताइरी?

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अबको दुई/तीन महिनाभित्र फेरि नेपाल फर्किँदै छन् । उनलाई पुन: मुख्य प्रशिक्षकको जिम्मेवारीमा ल्याउन नेपालको तर्फबाट एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतको टोलीले कतारमा वार्ता गरेको थियो ।

अलमुताइरीलाई नेपाल फर्काउन अध्यक्ष शेर्पाले पटकपटक वार्ता गरेका थिए । ‘हामीले उनीसँग वार्ता गर्‍यौँ । उनलाई अन्य ठाउँबाट पनि धेरै प्रस्ताव आएका थिए । अलमुताइरी नेपालसँग भावनात्मक रूपले पनि नजिक थिए । त्यसकारण उनलाई नेपाल फर्काउन हामी सक्षम भयाैँ,’ शेर्पाले भने, ‘उहाँलाई म लगायतको टोलीले पारिश्रमिक, नेपालमा पाउँदै आएको सेवासुविधामा थप गर्ने कुरा गरेपछि अलमुताइरी नेपाल फर्कन सकरात्मक देखिनु भएको हो,’ शेर्पाले भने । 

उनले अलमुताइरीलाई नेपाल फर्काउन कतार फुटबल संघसँग पनि कुरा गरेको बताए । ‘नेपाललाई आशा देखाएका प्रशिक्षक हुन् अलमुताइरी । उनले नेपाली फुटबललाई देखाएको बाटो निकै नै सकारात्मक छ । त्यसैले उनी र कतार फुटबल संघसँग कुरा गर्‍यौँ,’ शेर्पाले भने ।

उनका अनुसार अलमुताइरीको प्रतिक्रिया सकारात्मक आएपछि मात्र कतार फुटबल संघसँग कुरा गरिएको थियो । कतार फुटबल संघले नेपाली फुटबल उत्थानका लागि देखाएको जागरुकताप्रति आफू तथा नेपाली फुटबल आभारी रहेको अध्यक्ष शेर्पाले बताए । 

कतार फुटबल संघले अलमुताइरीको पारिश्रमिकदेखि सेवासुविधामा वृद्धि गरी उनलाई नेपालको प्रमुख प्रशिक्षकमा पुन: नियुक्त गराउने प्रयास गरेको थियो । ‘कतार फुटबल संघले सेवासुविधा थप गरी उहाँलाई नेपालको प्रमुख प्रशिक्षकको लागि मनाएको हो,’ शेर्पाले भने ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा बगंलादेशसँग बराबरी गर्दै नेपाल फाइनलमा पुगेपछि अलमुताइरीले अब कहिले पनि नेपाल नफर्किने भन्दै राजीनामा घोषणा गरेका थिए । तर, उनले बुधबार सामाजिक सञ्जालमार्फत आफू नेपाल फर्किने पुष्टि गरेका छन् । 



यस विषयमा एन्फा अध्यक्ष शेर्पा भन्छन्, ‘मलाई सामाजिक सञ्जाल तथा मिडियासँग केके कुरा भएको थियो राम्रोसँग थाहा पनि छैन । र, यसको औचित्य पनि छैन । तर, उहाँले मसँग भने कहिले पनि नफर्किने जस्ता कुरा गर्नु भएको थिएन ।’

अलमुताइरीले राजीनामा घोषणा गरेपछि आफूलाई विभिन्न देशबाट राम्रो अफर आए पनि आफूले पहिलो प्राथमिकता नेपाललाई नै राखेको बताएका थिए ।
 
‘मलाई अरू देशबाट पनि प्रस्ताव आइरहेको छ, मेरो प्राथमिकता नेपाल नै हो । तर, नेपालले चाहन्छ कि चाहँदैन भन्ने कुरा हो,’ उनले साफ च्याम्पियनसिपको अन्तिम खेलपछि मिडियामा भनेका थिए । 



अल्मुताइरीले नेपाल फर्कनुको मुख्य कारण समर्थकले देखाएको माया भनेर फेसबुक स्टाटसमा पनि लेखेका छन् । उनले सामाजिक सञ्जालमार्फत कतार फुटबल संघलाई पनि धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘मलाई नेपाल फर्काउनमा सबै प्रकारको प्रयास गरेकोमा कतार फुटबल एसाेसियसनलाई धेरै धन्यवाद ।’

त्यसो त प्रशिक्षक अलमुताइरी नेपाल फर्किन उत्सुक थिए नै । उनले आफैँले पनि नेपाल र नेपालको फुटबलप्रति माया देखाएका थिए । 

‘उहाँ नेपाली फुटबलप्रति सकारात्मक नै हुहुनुहुन्थ्यो । केही सामान्य कुराहरू थिए जसको कुरा टुङ्गो लाग्नेबित्तिकै उहाँलाई फर्काउन गाह्रो भने भएन,’ एन्फा अध्यक्ष शेर्पाले भने ।

छोटो समयमा नेपालको फुटबलमा देखिएको परिवर्तनले पनि अलमुताइरी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा फर्किने वातावरण बन्यो । उनले आफूले बोलेको कुरा पनि पूरा गरेका छन् । अलमुताइरीले जिम्मेवारी सम्हाल्दै गर्दा भनेका थिए, ‘अहिले नै नतिजाको आश नगर्नुस् मेरो लक्ष्य साफ च्याम्पियनसिप हो ।’ 

उनले नै आफ्नो प्रशिक्षणमा २८ बर्से साफ इतिहासमा नेपाली टोलीलाई पहिलोपटक फाइनलमा पनि पुर्‍याउन सफल भए । नेपाली टोलीलाई साफको फाइनलमा पुर्‍याउने उनी पहिलो प्रशिक्षक हुन् । 

  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १७:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया