तिहारको लागि नेपाल भित्रियो ७० करोड बराबरको झिलिमिली बत्ती, मुल्यवृद्धि हुँदा व्यापार खुम्चियो

नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले यो वर्ष तिहारको लागि ७० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको जनाएको छ । 

महासंघका अनुसार यो वर्ष चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत झिलिमिली बत्ती आयात गरिएको हो । 

महासंघका महासचिव कमल पोखरेलले तिहारका लागि बजारमा आएको बत्तीको कारोबार सुरु भइसकेको जनाए । उनका अनुसार तिहारको बत्तीको व्यापार ठूलादेखि साना सहरसम्म सुरू भइसकेको छ । 

सामान्य अवस्थामा वार्षिक १ अर्बभन्दा बढी विद्युतीय बत्ती नेपालमा आयात हुने गरेको महासंघले जनाएको छ ।  

तिहारमा मात्रै ८० प्रतिशत खपत हुन्छ भने अन्य २० प्रतिशत झिलिमिली बत्ती क्रिसमस, नयाँवर्ष तथा विवाहभोजमा बिक्री हुने पोखरेलले जानकारी दिए ।

विगत दुई वर्षमा कोभिडका कारण झिलिमिली बत्तीको आयातमा निकै गिरावट आएको महासंघले जनाएको छ । 



‘यो वर्ष करिब २५ देखि ३५ प्रतिशतमात्रै झिलिमिली बत्तीको आयात भएको छ । यो वर्ष करिव ६५ प्रतिशतले आयातमा गिरावट आएको छ,’ पोखरेलले भने । 
कोरोना महामारीका कारण झिलिमिली बत्तीको आयात कम गरिएको हो जसले गर्दा ती वस्तुको मुल्य बढ्ने जनाइएको छ । 

‘यो वर्ष झिलिमिली बत्तीमा ३५ देखि ४० प्रतिशतसम्म मूल्य बढ्ने देखिन्छ,’ महासंघका महासचिव पोखरेलको भनाइ छ । मुल्यवृद्धि हुँदा व्यापार घटेको समेत उनले जनाए । 



कोरोना महामारीले गर्दा झिलिमिली बत्तीको आयात सहज नभएको उनले बताए । व्यवसायीहरूले चिनियाँ बजारमा पुगी आवश्यक सामग्री ल्याउन नसक्दा यसको मूल्य विगतको तुलनामा वृद्धि भएको उनले स्पष्ट पारे । 

साथै, इन्धन र ढुवानीमा पनि चर्को मूल्यवृद्धि भएकाले स्वाभाविक रुपमा मूल्य बढ्ने उनको भनाइ छ । 

हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाईट अत्याधिक बिक्री भइरहेको छ । यी लाइटहरुको मूल्य सामन्यतया डेढ सयदेखि तीन हजारसम्म हुने गरेको व्यवसायीको भनाइ छ । यस्तै देवी देवताका फोटोमा जोडिएका बत्तीको बिक्री पनि ठूलै मात्रामा हुने गरेको छ ।

तिहार उज्यालो पर्वको रुपमा तिहार चिनिन्छ । धनकी देवी लक्ष्मीको पूजा गरिने यो तिहारमा करोडौं रुपैयाँको झिलिमिली बत्ती कारोबार हुने गर्छ । पहिला सहरमा मात्र देखिन झिलिमिली बत्ति अहिले गाउँ गाउँमा पुगेको छ । गाउँमा विद्युत पुगेसँगै झिलिमिली बत्ति पनि पुगेको हो । 

लोडसेडिङ समाधान भएकाले पछिल्ला वर्षहरुमा तिहारमा यस्ता बत्तीको माग दोब्बरले वृद्धि​ हुँदै आएको छ । 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १६:३८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया