कसले जित्ला टी–२० को ट्रफी ?

नेपाली समयअनुसार आज साँझ पौने आठ बजे टी–२० विश्वकपको फाइनल खेल हुँदै छ । र, यो खेलमा आमनेसामने हुँदै छन्, अस्ट्रेलिया र न्युजिल्यान्ड । सानो भूगोलको न्युजिल्यान्ड र विशाल देश अस्ट्रेलियाबीच सीमाना पनि जोडिएको छ । 

न्युजिल्यान्ड र अस्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम इङ्ल्यान्ड र पाकिस्तानलाई हराएर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएका हुन् । यी दुई देशबीच विगतमा भएका प्रतिस्पर्धा हेर्दा अस्ट्रेलिया​ले टी–२० मा न्युजिल्यान्डले भन्दा बढी म्याच जितेको छ । कंगारु उपनामले चिनिने अस्ट्रेलिया​ले आठ र किवी उपनामले चिनिने न्युजिल्यान्डले पाँच प्रतिस्पर्धामा जित हासिल गरेका छन् ।

भारतमा २०१६ को टी२० विश्वकप सिजनमा न्युजिल्यान्ड र अअस्ट्रेलिया​ आमनेसामने भएका थिए । त्यसमा किवीले कंगारुलाई नराम्ररी धूलो चटाएको थियो । उक्त म्याचको हिरो मिसेल म्याक्लेगन लिए । उनले शानदार बलिङ गर्दै तीन विकेट आफ्नो नाममा दर्ता गरेका थिए ।

यी दुवै टिमको भेट एकदिवसीय विश्वकप फाइनल क्रममा २०१५ मा भएको थियो । त्यसबेला यी दुई छिमेकी देशले प्रतियोगिताको सहआयोजना पनि गरेका थिए ।

ब्रेन्डन म्याकलमको टिम माइकल क्लार्कको टिमसँग मेलबर्नको मैदानमा हारेको थियो । त्यो खेलमा न्युजिल्यान्ड १८३ रनमा समेटिएको थियो र अस्ट्रेलियाले सात विकेटले जित हात पारेको थियो । सोही समय अस्ट्रेलिया​ पाँचौं पटक विश्वकप ट्रफी आफ्नो हात पार्न सफल भएको थियो ।

म्याचमा मिसेल जोनसन र जेम्स फल्कनरले तीन–तीन विकेट लिएका थिए, जबकि मिसेल स्टार्कले दुई विकेट लिएका थिए । आइतबार (आज) हुने फाइनल खेलमा दर्शकको नजर विशेषगरी अस्ट्रेलिया​ली कप्तान एरोन फिन्चमाथि हुनेछ । 



किनकि, फिन्चले न्युजिल्यान्डविरुद्धको टी–२० म्याचमा सबैभन्दा बढी २५१ रन बनाएका छन् । त्यसमा किवीविरुद्धको सात पारीमा दुई अर्धशतक पनि सामेल छ । उसै पनि कुनै पनि खेलमा कप्तान बढी नै दबाबमा हुने गर्छन् । त्यसमाथि क्रिकेटमा त कप्तानको काँधमा अलि बढी नै जिम्मेवारी रहने गर्छ । 

अस्ट्रेलिया​का अलराउन्डर खेलाडी ग्लेन म्याक्सवेलले नौ पारीमा १५७.२५ स्ट्राइक रेटबाट २०६ रन र डेभिड वार्नरले १५६.४३ को स्ट्राइक रेटबाट सात पारीमा १५८ रन बनाएर किवीविरुद्ध सुन्दर प्रदर्शन गरेका थिए । अर्कोतिर, ब्ल्याक क्याप्सको मार्टिन गुप्टिलले अस्ट्रेलिया​ली टिमलाई चुनौती दिएका छन् । उनले १२ पारीमा ३६.२५ को औसतमा १५२.०९ को स्ट्राइक रेटबाट ४३५ रन बनाएका छन् । यसमा एक शतक र दुई अर्धशतक सामेल छ ।



किवी टोलीलाई विकेटकिपर र मध्यक्रमका ब्याट्सम्यान डेभोन कोन्वेको अभाव खट्किने छ, उनी चोटका कारण फाइनलमा सहभागी हुन पाएनन् । कोन्वेले वर्षको सुरुआतमा अस्ट्रेलियाविरुद्धको पाँच म्याचमा ४८ को औसतमा १९२ रन बनाएका थिए । 

त्यसमा एक म्याचमा नट आउट ९९ रनको स्कोर पनि सामेल थियो । बलरमध्ये एस्टन एगरले किवीविरुद्ध शानदार प्रदर्शन गरेका छन् । 

रोमान्चक कुरा त के छ भने, मिसेल स्टार्क, प्याट कमिन्स र जोस हेजलउडलाई अहिले ब्ल्याक क्याप्सविरुद्ध खेल्नु छ । न्युजिल्यान्डका लागि इस सोढीले अस्ट्रेलियाविरुद्धको खेलमा सबैभन्दा बढी १६ विकेट हासिल गरेका छन् । 

उता, ट्रेन्ट बोल्टले १० विकेट लिएका छन् भने सेन्टनर र टिम साउदीले नौ–नौ विकेट लिएका छन् । अलराउन्डर जेम्स निसम अस्टे«लियाविरुद्ध अलि महँगो साबित भए, उनले केबल दुई विकेट लिन सकेका छन् ।

खेल नै त हो, त्यसमाथि क्रिकेट जसमा जे पनि हुन सक्छ । ठूल्ठूला र अनुभवी विश्लेषकहरुका अनुमान असफल हुन सक्छन् । अनुभवी खेलाडी भएको टिमलाई नयाँ र युवा टोलीले परास्त गर्न पनि सक्छ । क्रिकेटप्रेमीहरु म्याच सुरु हुने समयको प्रतीक्षामा छन् । (एजेन्सीको सहयोगमा)

  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १३:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया