धनुषा क्षेत्र नम्बर १ (ख)को सभापतिमा देउवा पक्षका लामा निर्वाचित

नेपाली कांग्रेस धनुषाको प्रदेशसभा क्षेत्रीय अधिवेशनअन्तर्गत क्षेत्र नम्बर १ (ख) को सभापतिमा शेरबहादुर देउवा पक्षका ऋषिकेश लामा निर्वाचित भएका छन् ।

विगत दुई दिनदेखि सहमति जुटाउने प्रयास गरिए पनि सहमति नजुट्ता अन्ततः निर्वाचनबाटै नेतृत्व चयन गरिएको हो । बिहीबार अबेर राति सम्पन्न मतदानबाट लामा २५७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मदन यादवले ५७ ल्याएका छन् ।

लामा देउवा पक्षका पूर्व सांसद आनन्दप्रसाद ढुंगानाका तर्फबाट उम्मेदवार बनेका थिए भने मदन यादवले उपसभापति विमलेन्द्र निधिको पक्षबाट उम्मेदवारी दिएका थिए । यसअघि क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह निर्वाचित भएका थिए ।

धनुषामा क्षेत्र नम्बर १ (क) बाहेक क्षेत्र नम्बर ४ (ख) मा पनि निर्विरोध नेतृत्व चयन गरिएको छ । सो क्षेत्रबाट बासुदेव पौडेल निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अरूणकुमार ज्ञवालीले जानकारी दिए ।

दुई क्षेत्रमा आपसी सहमतिअनुसार निर्विरोध नेतृत्व चयन गरिएको छ भने क्षेत्र नम्बर ३ को (क) र (ख) दुवैमा सहमति जुटाउने प्रयास जारी रहेको बताइएको छ । त्यस्तै, क्षेत्र नम्बर २ को (क) र (ख) तथा ४ को (ख) मा पनि मतदानबाट नेतृत्व चयन गरिने सम्भावना रहेको जिल्ला सचिव सन्तोष यादवले बताए ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १७:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया