कांग्रेस अधिवेशन : मोरङमा पैसा र शक्तिको भरमा निर्वाचन जितेको संस्थापन पक्षको आरोप

मोरङमा सभापति पदमा आफ्नो समूहका उम्मेदवार पराजित भएपछि नेपाली कांग्रेसको संस्थापन पक्षले पैसा र शक्तिका भरमा शेखर कोइराला पक्षका डिकबहादुर लिम्बूले निर्वाचन जितेको आरोप लगाएको छ । पत्रकार सम्मेलन गर्दै संस्थापन पक्षले आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढंगको व्यवहार प्रदर्शन गरिएको आरोप लगाएको हो ।

केन्द्रीय सदस्य तथा संस्थापन पक्षका मोरङका नेता अमृत अर्यालले  शक्ति र सामर्थ्यका अगाडि पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन खोज्नेहरू पराजित भएको बताए । उनले क्रियाशील सदस्यता वितरणका क्रममै षड्यन्त्र भएको र निर्वाचनस्थल कब्जा गरेकोसमेत आरोप लगाए ।

उनले भने, 'लामो समय पार्टी राजनीतिमा योगदान गरेकाहरूलाई वडातहमै हराउनका लागि ठूलो धनराशि खर्च गरियो ।' यसले कांग्रेसलाई कमजोर बनाएको र आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ बनाउने प्रयत्नमा बाधा पुगेको उनको धारणा छ  ।

कांग्रेस मोरङको सम्पन्न निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदार पराजित भएका थिए । कांग्रेस नेता कोइराला समर्थित समूहका उम्मेदवार लिम्बू निर्वाचित भएका हुन् ।

कांग्रेसको सभापतिको दाबी गर्दै आएका कोइरालाले जिल्लामा एउटा समूहलाई पूर्णरूपमा निषेध गरेर गुटको मात्र नेतृत्व गर्न खोजेको आरोप लगाउँदै अर्यालले भने - 'देशकै नेतृत्व गर्छु, पूरा कांग्रेसको नेतृत्व गर्छु भन्ने नेताले कमिलाको जत्रो छाती बनाए र गुटगत प्रवृत्तिका साथ व्यवहार गरे ।'

संस्थापन समूहको तर्फबाट करिब एक हजार मत ल्याएर २५ सय मत भएको समूहसँग प्रतिस्पर्धा गरेको भन्दै अर्यालले तीन जना केन्द्रीय सदस्यहरूले सहमतिको नाममा आफूलाई तीन दिनसम्म अल्मल्याएका कारण पनि चुनाबी परिणाम अस्वभाविक आएको दाबी गरे ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया