विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव मनाइँदै

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव मनाइँदैछ ।

तिलकोत्सवको अवसरमा १०८ वटा पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर जाने र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरीबीच सम्धी मिलन गर्छन् ।

विवाहपञ्चमी अन्तर्गत आइतबार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो । त्रेतायुगमा भगवान रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, शनिबार फूलबारी लीला र आइतबार धनुष यज्ञ मनाइएको छ भने आज तिलकोत्सव मनाइँदैछ ।



त्यस्तै, मंगलबार मटकोर, बुधबार स्वयंवर तथा विवाह र बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिने भएको छ ।

यस वर्ष विवाहपञ्चमीमा भारतको सीमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार ११:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया