नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन अब केही समयमा नै सुरु हुँदैछ । पहिलो चरणमा सभापतिका आकांक्षी शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले मात्र होइन, शशांक कोइरालाले पनि सहयोग गर्ने बताइसकेका छन् । उनलाई पहिलो चरणमा कांग्रेसका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरिसकेका नै थिए । १३ औं महाधिवेशनसम्म देउवाको टिममा नै रहेका विमलेन्द्र निधिले उनलाई दोस्रो चरणमा सहयोग गर्नुलाई धेरैले आश्चर्यका रुपमा लिएका छैनन् ।
तर, लामो समय यता देउवाविरुद्धको टिममा रहेर राजनीति गरिरहेका प्रकाशमान सिंहले समेत देउवालाई समर्थन गर्ने भए पछि यसलाई अचम्मका साथ लिइएको छ ।
‘हामी आफैं पनि ठूलो सरप्राइजमा परेका छौँ,’ शेखर कोइरालानिकट एक नेताले फरकधारसँग भने, ‘प्रकाशमान दाइले अचानक देउवालाई समर्थन गर्नुहोला भन्ने हाम्रो कल्पना बाहिरको कुरा हो ।’
यसअघि बारम्बार देउवाइतर पक्षमा को साझा उम्मेदवार बन्ने विषयमा टुंगो नलाग्दा प्रकाशमान सिंह र शेखर कोइराला दुवै सभापति पदमा उठेका थिए । टिमभित्र नै रहेकाले प्रकाशमान सिंहले सभापति निर्वाचन दोस्रो चरणमा पुग्दा आफूलाई सहयोग गर्ने आशामा थिए, शेखर कोइराला ।
तर, प्रकाशमान सिंहले मंगलबार विहान देउवालाई आफ्नो समर्थन रहेको बताए ।
‘उहाँले अब पार्टी विधिपूर्वक चलाउँछु भन्नु भएको छ,’ देउवालाई आफ्नो समर्थन घोषणा गरेपछि प्रकाशमान सिंहले भनेका छन् । तर, कांग्रेसभित्र नै देउवा र प्रकाशमानबीच आज विहान सिंह निवास चाक्सीबारीमा भएको भेटमा पदीय लेनदेनसमेत भएको चर्चा चल्न थालेको छ ।
‘देउवाले प्रकाशमान दाइलाई उपप्रधानमन्त्री बनाउँछु भनेको कुराको हल्ला चलेको छ,’ सिंहनिकट एक नेताले फरकधारलाई भने, ‘तर, यो त अब आधिकारिक पुष्टि हुने कुरा नै भएन ।’
हामीले देउवाले दिएको यो आश्वासनबारे थप बुझ्न अर्का एक नेतालाई फोन सम्पर्क गर्यौँ । ‘उहाँहरुबीच गोप्य कुराकानी भएको हो,’ उनले भने, ‘यसबारे कोही पनि नेताले केही भन्नु भएको छैन । हामीले पनि देउवालाई प्रकाशमान सिंहको समर्थन भन्नेमात्र सुनेका हौँ । थप केही कुरा बाहिर आएको छैन ।’
अर्कोतिर, शेखर कोइरालानिकट नेताहरुले चाहिँ सिंहले सरकारमा जाने आश्वासन पाएकाले नै देउवालाई समर्थन गरेको हुनसक्ने बताउँछन् । दोस्रो चरणको निर्वाचन सुरु हुनुभन्दा केहीअघि मात्र पत्रकार सम्मेलन गरेर कोइरालाले चाहिँ आफूहरु लोकतन्त्रको पक्षमा रहेको र मतादातालाई विवेक प्रयोग गर्न अनुरोध गरेका छन् ।
आज सुरु हुने सभापतिका लागि दोस्रो चरणको निर्वाचन आजै सकिए पछि मत गणना सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।