विश्वप्रकाशको प्रश्न - कञ्चनपुरमा नभेटिएको सरकार आइएनजिओसँग भेटिनु कति सुखद् ?

काठमाडौं- प्रमुख विपक्षी दल नेपाली कांग्रेसले एक आइएनजिओको विवादास्पद कार्यक्रममा सरकार सहआयोजक बनेकोमा आपत्ति जनाएको छ ।

युनिर्भसल पिस फेडरेसन (युपिएफ) को नेपाल शाखाले १४ देखि १७ मंसिरसम्म गर्न लागेको सम्मेलनमा सरकार र संघीय संसद् सहआयोजक छन् । आफूलाई ‘अन्तर-धार्मिक सञ्जाल’ भनेर चिनाउने आइएनजीओ ‘युपिएफ’ले विशेषगरी क्रिस्चियन धर्म प्रचारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । 

‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौंमा हुने कार्यक्रम छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलन गरी कञ्चनपुरमा भेटिनुपर्ने सरकार आइएनजीओको कार्यक्रममा भेटिएको भन्दै आलोचना गरे ।

छोरीको बलात्कारपछि हत्या गर्नेमाथि कारबाहीको माग गर्दै धर्ना बसेका  निर्मला पन्तका बाबुको मानसिक स्वास्थ्यमा समस्या आएको सन्दर्भ प्रस्तुत गर्दै उनले सरकारको उपस्थिति हुनुपर्ने ठाउँमा नभएको र नहुनुपर्ने ठाउँमा भएकोमा आपत्ति जनाए ।

‘मैले दुई दिनअघि पत्रकार सम्मेलन गरी सरकार कहाँ छ ? भनेको थिएँ । मैले सरकार यहाँ भेटेँ,’ प्रवक्ता शर्माले प्रश्न गरे, ‘सरकार यसरी भेटिनु कति कति सुखद् छ ? एउटा एनजिओ आयोजक र सरकार सहआयोजक हुने कुरा कति सुन्दर छ ?’



आफूले प्रधानमन्त्रीका सल्लाहकार र सांसद सचिवालयका महासचिवलाई समेत फोन गरेर ध्यानाकर्षण गराएको भन्दै प्रवक्ता शर्माले निश्चित धर्म प्रचारका लागिसमेत सम्मेलन हुन लागेको सुन्नमा आएकाले त्यसमा धर्मनिरपेक्ष मुलुकको सरकारको संलग्नताले संविधानको समेत अपमान हुुनेतर्फ सचेत रहन प्रधानमन्त्रीलाई आग्रह गरे । 



  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार २१:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया