नगरप्रमुख लालकिशोर साहले एकलौटी गरेको असन्तुष्ट वडाध्यक्षहरुको आरोप

जनकपुरधाम उपमहानगरपालिकाको सोमबार बसेको बोर्ड बैठकमा नगरप्रमुख लालकिशोर साहले एकलौटी गरेको असन्तुष्ट वडाध्यक्षहरुले आरोप लगाएका छन् । 

करिब ६ महिनापश्चात् बसेको बैठकपछि जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्ट वडाध्यहरुले नगरप्रमुख लालकिशोर साहले बोर्ड बैठकमा तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका हुन् ।
 
बैठकमा आफूहरु अल्पमतमा परेकाले उनले आफूहरुको कुनै कुरा नै नसुनेर आफूअनुकूल एकलौटी निर्णय गरेको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए । वडाध्यक्ष साहले सोमबारको बैठकमा आफूले विभिन्न ९ वटा प्रस्ताव राखे पनि ती प्रस्तावमाथि कुनै चासो नै नदेखाई बहुमतको आडमा मेयर साह तानाशाह बनेको दुःखेसो सुनाए । 

उनले आजको बैठकमा नगर सरसफाइ, वडा स्तरीय योजना, प्रत्येक ३ महिनामा बोर्ड बैठकको आह्वान, शिक्षा, स्वास्थ्य, नगरसभाबाट पारित भएको परिक्रमा क्षेत्रभित्र माछामासु तथा मदिरा निषेध गर्ने निर्णय, किसानका लागि मल, खाद्य तथा बिउको उपलब्धता, गत वर्ष करिब १ करोड रुपैयाँमा खरिद गरिएको भेपर लाइटलगायत विषयमा मेयर साहसँग धारणा माग्न खोज्दा कुनै चासो नै नदेखाएको समेत बताए । 

वडाध्यक्षहरूले आफूहरू आफ्नो कुरा राख्न खोज्दा मेयर साहले बाउन्सर लगाएर हप्कीदप्की दिइरहेको तथा उपमहानगरको हरेक कुनामा बाउन्सरहरू भरिभराउ रहेको जिकिरसमेत गरेका छन् । 

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गइरहेको अवस्थामा आफूहरूले पटक–पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको र उल्टै गुण्डाशैलीमा आफूहरूमाथि जाइलागेको वडा नम्बर–१ का वडाध्यक्ष सत्रुधन साहले आरोप लगाए ।

वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्रकुमार साहले मेयर साहले आफूहरूको वडाको योजना बिगारेकोले यस वर्ष कुनै काम नै गर्न नसकेको समेत बताए ।
 
उनले नगरप्रमुख साहले आफूअनूकुल चालू आर्थिक वर्षमा नगरभित्र पर्यटन प्रवद्र्धनका नाममा २ करोड ६७ लाख, विद्युतमा ६ करोड ११ लाख र महिला सशक्तीकरणका लागि अनुदानस्वरूप ४ करोड रुपैयाँ बजेट छुट्याए पनि यी बजेट आफ्ना आसेपासे कर्मचारीसँग चलाइरहेको आरोपसमेत लगाए । 





  • प्रकाशित मिति : पुस ५, २०७८ साेमबार १८:२१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया