हङकङको चुनावलाई लिएर पश्चिमी देशलाई चीनको प्रतिक्रिया

हङकङको स्थानीय निर्वाचनको प्रक्रियालाई लिएर पश्चिमा राष्ट्रहरूले गरेको आलोचनालाई चीनले देशको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै जवाफ फर्काएको छ ।

हङकङको विधायिका सभामा आइतबार सम्पन्न निर्वाचनमा ९० प्रतिशतभन्दा बढी सिट बेइजिङ समर्थक सांसदहरुले जितेका थिए ।

मतदानअघि चीनले हङकङको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गरेको थियो । बेइजिङले उम्मेदवार माथिसमेत कडा निगरानी गरेको थियो । यो परिवर्तनले हङकङको राजनीतिक परिदृश्य पनि फेरिएको हो ।

निर्वाचनअघि चीनले 'देशभक्त' प्रस्ताव पारित गरेको थियो, जसले प्रत्येक उम्मेदवारलाई परीक्षण गर्ने अधिकार चीनलाई दिन्छ ।

चिनियाँ अधिकारीले स्थायित्वका लागि निर्वाचन प्रणालीमा फेरबदल आवश्यक रहेको तर्क गरेका छन्‍ । तर, आलोचकहरूले यसले हङकङको लोकतन्त्रलाई कमजोर बताउने टिप्पणी गरेका छन् ।

हङकङको निर्वाचन प्रक्रियामा ३०.२ प्रतिशत मतदाताले भाग लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डका विदेश मन्त्रीहरूले चीनको नयाँ नियमले 'कुनै पनि सार्थक राजनीतिक विरोधलाई निस्तेज बनाएको' आरोप लगाएका छन् । यी पाँच पश्चिमी देशको समूहलाई 'फाइभ आइ कन्ट्री' पनि भनिन्छ ।

'पहिले, विभिन्न राजनीतिक विचारका उम्मेदवारहरू हङकङमा चुनाव लड्ने गर्थे, तर यो निर्वाचनमा त्यो प्रवृत्ति फेरिएको छ,' यी देशको समूहले भनेको छ ।



त्यस्तै, जी ७ मा आबद्ध देश र युरोपेली युनियनले पनि हङकङको चुनावप्रति चासो देखाएका छन् ।

पश्चिमी देशहरूको चासोपछि मंगलबार अस्ट्रेलियास्थित चिनियाँ दूतावास प्रतिक्रिया दिएको छ । चीनले 'फाइभ आइ कन्ट्री'ले 'सत्यलाई उल्ट्याउन' र 'हङकङको राजनीतिमा हस्तक्षेप गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको विकासमा बाधा पुर्‍याएको' आरोप लगाएको छ ।

  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १५:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया