सन् २०२१ : विश्व खेलकुदका केही यादगार क्षण

अंग्रेजी नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । विश्वका धेरै देशहरूमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।

अत्यन्तै व्यस्त र चर्को प्रतिस्पर्धात्मक वर्ष २०२१ मा खेलकुद क्षेत्रले समग्र विश्वलाई राहत महसुस गराउने ठूल्ठूला अवसरहरू प्रदान गरेर बिदा भएको छ ।

पक्कै पनि कोरोना महामारीबाट थलिएको विश्वमा थुप्रै उतारचढावहरू भए । थुप्रै भावुक क्षणहरूसँग विश्व खेलकुदले साक्षात्कार गर्नुपर्‍याे ।

कोरानाका कारण सन् २०२० मा हुन नसकेकाे युरोकप, ओलम्पिकजस्ता ठूला प्रतियोगिता यही वर्ष सम्पन्न भए । विश्व खेलकुदमा धेरै यादगर क्षणहरु पनि देखिए । जसकाे बारेमा छाेटकरीमा यहाँ छलफल गरिनेछ ।

फर्मुला वान

डिसेम्बरको मध्यमा फर्मुला वानमा एउटा यस्तो नाटक र विवाद मिश्रित दृष्य भयो, जसले पूरा विश्व खेलकुदको ध्यान तान्न गर्न सफल भयो।



रेडबुलका म्याक्स भेर्सटापनले सात पटकका च्याम्पियन मर्सिडिजका लेविस ह्यामिल्टनलाई अन्तिम ल्यापमा उछिन्दै दुबई ग्रान्ड प्रिक्सको उपाधिमाथि कब्जा जमाए । यो फर्मुला वानका समर्थकहरूका लागि एउटा सनसनीपूर्ण र अपत्यारिलो नतिजा थियो ।

एरिक्सनको घटनाले एकजुट बनेको विश्व खेलकुद



फुटबलको युरोपियन च्याम्पियनसिपमा उदघाटन खेल नै अप्रिय बन्न पुग्यो । मुटुको समस्याका कारण मैदानमै ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनको जीवन बचाउन चिकित्सकहरूले गरेको प्रयासले धेरै खेलप्रेमीको मन जित्न सफल भयो ।

फिनल्यान्डविरुद्धको उदघाटन खेलको पहिलो हाफमा एरिक्सन अचानक लडेपछि मैदानमै लामो समयसम्म उनको उपचार गरिएको थियो ।
 
मैदानमा एरिक्सनको उपचार चलिरहँदा त्यहाँ उपस्थित सबैको आँखामा आँसु देखिएको थियो । यस्तो अवस्थामा डेनमार्कका कप्तान सिमोन केजर, फिनल्यान्डका खेलाडी, समर्थक तथा रेफ्रीले जुन किसिमको खेल भावना देखाए त्यो पनि तारिफ योग्य नै थियो ।

एरिक्सन मैदानमा लड्नासाथ केजरले रेफ्रीतर्फ इसार गर्दै खेल रोक्न संकेत गरेका थिए । रेफ्रीले पनि तुरुन्तै खेललाई रोके ।

केजरले हावा पास होस भनेर एरिक्सनको मुख बन्द हुन दिएनन् । स्क्रिनमा यस्तो नाजुक अवस्था नदेखियोस् भनेर उनैले मानव पर्खाल बनाएका थिए । एरिक्सनलाई थप उपचार गर्न मैदान बाहिर लैजाने क्रममा फिनल्यान्डका खेलाडी समर्थकबाट आफ्नो देशको झण्डा मागेर छोपेका थिए । 

कोपनहेगनको पार्केन रंगशालामा घरेलु टोली १-० को ले पारजित भयो तर एक जीवन बचाउन गरेको प्रयासमा भने यो पूरा विश्व खेलकुदकै जित हो । 

विश्व खेलकुदमै कहिलेकाहीँ देखिने भावुक क्षण थियो त्यो । केहीबेरको उपचारपछि मैदानबाट अस्पताल पुर्‍याइएका एरिक्सन प्रतियोगिता दौरान नै ठीक भएर सहयात्रीहरूलाई हौस्याउन अभ्यास स्थल पुगे । डेनमार्कले सेमिफाइनलसम्मको सनसनीपूर्ण यात्रा एरिक्सनप्रति समर्पित गर्‍याे । 

भावुक मेस्सी 

बार्सिलोनासँगको २१ वर्षे सम्बन्धमा पूर्णविराम लगाउँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) सरुवा हुनुअघिको अन्तिम पत्रकार सम्मेलनमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी भावविहोल भए । 

करिअरको सुरुवातदेखि नै आवद्ध भएको टोली छोडेर जानु पर्दा मेस्सीको आँखा रसाउनु स्वाभाविक नै थियो । 

त्यस्तै अर्को घटनामा मेस्सीले राम्रो खेल भावनाको नमुना प्रस्तुत गरे ।

मेसी दक्षिण अमेरिकी फुटबलको सबभन्दा ठूलो मानिने ब्राजिलविरुद्धको खेलमा अर्जेन्टिनाका लागि खेल्दै थिए । कोरोना कारण लागू गरिएकाे स्वास्थ्य मापदण्डविपरित केही खेलाडीले क्वारेन्टिन नियम मिचेको भन्दै ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदानको बीचमै गएर खेल रोके। 
 
विश्वकप छनोट अन्तर्गतको उक्त खेलमा स्वास्थ्य मापदण्ड मिच्ने खेलाडीहरूलाई जेल सजाय हुन सक्थ्यो । तर मेसीले आफ्नो व्यक्तित्व प्रयोग गर्दै नेतृत्व क्षमता प्रदर्शन गरे र विवादलाई मिलाउन सफल भए । 

खेलाडीको मानसिक स्वास्थ्य

कोरोनाको विश्वव्यापी महामारीका कारण तनाव सामना गर्नुपर्दा खेलाडीहरूको मानसिक स्वास्थ्यको विषय पनि वर्ष २०२१ मा छलफल र चर्चाको मुख्य विषय बन्यो ।

टेनिसमा विश्व नम्बर एक महिला खेलाडी नाओमी ओसाकाले यो वर्ष फ्रेन्च ओपन बीचमै त्याग्नुपर्‍याे । उनले आफू झण्डै तीन वर्षदेखि डिप्रेसनको सिकार भएको भन्दै पोस्ट म्याच कन्फरेन्समा उपस्थित हुन अस्विकार गरेकी थिइन् ।

फ्रेन्च ओपनको आयोजकले पत्रकार सम्मेलनमा उपस्थित हुनुपर्ने नियम बाध्यकारी भएको भन्दै दबाब दिएपछि ओसाकाले प्रतियोगिता बीचमै त्याग्ने निर्णय लिइन । त्यस दौरान उनलाई अन्य ग्राण्ड स्लाम आयोजकहरूले पनि पत्रकार सम्मेलनमा उपस्थित नहुने भए सहभागी नगराउने चेतावनी दिएका थिए ।

ओसाकापछि स्वर्ण पदकको मुख्य दाबेदार मानिएकी अमेरिकी जिम्न्यास्टिक खेलाडी सिमोन बाइल्सले टोकियो ओलम्पिकको ठूलो स्टार हुनुको दबाबका कारण प्रतिस्पर्धामा भाग नलिने निर्णय लिइन् ।

अनुपम खेल भावना

कतारका मुटाज इसा बार्शिम र इटालीका जियानमार्को टाम्बेरीले विश्व एथ्लेटिक्समा एउटा छुट्टै प्रेरणादायी अभ्यास गरे ।
 
उनीहरूले ओलम्पिक हाइजम्पको स्वर्ण पदक दुई खेलाडीलाई बाँड्न आयोजकलाई सहमत गराएर विश्व खेलकुदमा एक अविश्वन‍ीय क्षणको सिर्जना गराए । 

पहिलो प्रयासमा दुवैले २.३७ मिटर नाघे । त्यसपछि २.३९ मिटरका लागि गरिएको प्रयासमा तीनै पटक दुवै खेलाडी असफल भए । त्यसपछि विश्व च्याम्पियन बार्शिमले आयोजकसँग दुवै खेलाडीलाई स्वर्ण दिन अनुरोध गरे । 

आयोजकले दुई खेलाडीको त्यो खेल भावनाको सम्मान गर्दै दुवैलाई स्वर्ण पदकबाट विभूषित गर्‍याे। त्यो विधामा रजत पदक कसैलाई पनि दिइएन ।

जोकोभिचको अपूरो वर्ष

टेनिसका विश्व नम्बर एक पुरुष खेलाडी नोभाक जोकोभिच टोकियो ओलम्पिकको सेमिफाइनलमा निराश भए । 

यसैगरी युएस ओपनको फाइनलमा सर्बियाली स्टार जोकोभिचको हार पनि लामो समयसम्म टेनिस समर्थकले सम्झिरहनेछन् । त्यही हारका कारण उनी एउटा क्यालेन्डर वर्षका सबै चार ग्राण्ड स्लाम (गोल्डेन स्लाम) जित्ने अवसरबाट चुकेका थिए ।

सनसनीपूर्ण किशोरी राडुकानु

इम्मा राडुकानुले १८ वर्षको उमेरमा युएस ओपनको उपाधिमा कब्जा जमाएर ग्राण्ड स्लाम जित्ने पहिलो छनोट खेलाडीका रूपमा नाम लेखाइन् । 

१९७७ यता ग्राण्ड स्लामको एकल उपाधि जित्ने पहिलो बेलायती खेलाडीका रूपमा पनि नाम लेखाउँदा राडुकानुको चर्चा चुलिएको थियो ।

यौन दुर्व्यवहारकाे आरोप र फिर्ता

युगलतर्फ पूर्व विश्व नम्बर एक पेङ शुईले पूर्व उपप्रधानमन्त्रीमाथि आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइन् । 

आरोप लगाएपछि लामो समय बेपत्ता भएकी उनले पछि भने आफूमाथि कसैले दुर्व्यवहार नगरेको र आफूले कसैलाई त्यस्तो आरोप पनि नलगाएको भन्दै माहोल मत्थर पार्ने प्रयास गरिन् ।

कम्युनिस्ट शासन व्यवस्था भएको चीनमा उनको आरोपपछि राजनीतिमा हलचल उत्पन्न भएको थियो । महिला टेनिस संघ (डब्लुटिए)ले पनि राजनीतिक कारण देखाउँदै लामो समय चीनमा प्रतियोगिताहरूमाथि निलम्बन लगाएको थियो ।

दुर्घटनामा उड्स

फेब्रुअरीमा गल्फ स्टार टाइगर उड्स एउटा डरलाग्दो कार दुर्घटनामा परे । दुर्घटनामा परी उनकाे शरीरका थुप्रै हड्डी भाँच्चिएका थिए । उनलाई तत्काल लस एन्जल्स अस्पताल पुर्‍याइयाे। अस्पतालमा केही दिनको बसाइपछि शल्यक्रिया गराएका उड्स अहिले पनि निको हुने क्रममा छन् ।

टेस्टको एकै पारीमा १० विकेट लिने पटेल तेस्रो खेलाडी

वर्ष २०२१ को अन्तिम समयतिर क्रिकेटले पनि केही सम्झन लायक अद्भूत दृश्य देखायाे । न्युजिल्यान्डका अजाज पटेलले भारतविरुद्धको टेस्टमा १० विकेट लिए । विश्व क्रिकेटको इतिहासमा टेस्टको एकै इनिङमा १० विकेट लिने उनी तेस्रो बलर हुन् ।

पटेलअघि इंग्ल्यान्डका जेम्स लाकर भारतका अनिल कुम्लेले यो सफलता हात पारेका थिए ।  

एसेज सिरिजको पहिलो बलमै अस्ट्रेलियाका मिचेल स्टार्कले इङ्ल्यान्डका रोरी बर्नसलाई क्लिन बोल्ड गरेर शान्दार सुरुआत दिलाए ।

एसेज सिरिजको ८५ वर्षे इतिहासमा शृंखलाको पहिलो बलमै विकेट गएको यो पहिलो अवसर थियो ।
 

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १२:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया