स्थानीय सरकार र संघीय सरकारबीच समन्वय हुन नसक्दा क्षतिग्रस्त संरचना बन्न सकेनन्: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएका केही भौतिक संरचना अझै बन्न नसकेको बताएका छन् । 

२४औं भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन्।

मेयर शाक्यले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो समेत गरे ।

उनले टेको लगाएर राखिएका भवनहरू वर्षा हुँदासमेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गरे ।

मेयर शाक्यले भने, ‘समन्वय नहुँदा अहिले पनि केही मठमन्दिरमा टेको लागेका छन् । कसले बनाउने, गुठीले बनाउने कि ? पुरातत्वले बनाउने कि, महानगरले बनाउने ? भन्ने दोधार छ । हामी बनाउँछौं, हामीसँग पर्याप्त बजेट छ भन्दाभन्दै अहिलेसम्म स्वामित्व हस्तान्तरण नगरेको, जिम्मेवारी नदिएको कारणले अहिले पनि केही घर सहरभित्रै टेको लगाएकाे अवस्थामा देख्न सक्नुहुन्छ । समन्वय गरिदिन मान्य गृहमन्त्रीलाई म अनुरोध गर्दछु । नेपाल सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा, पुरातत्व गुठी संस्थानसँग समन्वय नहुँदा यस्ताे समस्या आएकाे हाे । हामीलाई पनि बनाउन नदिँदा त्यस्ता भवनहरू रहेका छन् । अहिले भूकम्प नजाँदा पनि सामान्य वर्षा हुँदा भत्किन सक्ने भएकोले त्यस्ता भवनहरू बनाउन अत्यावश्यक भइसकेको छ ।’

विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग नेपाल सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने मेयर शाक्यकाे भनाइ छ ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १३:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया