महोत्तरीको पिपरा गाउँपालिकाविरुद्ध स्थानीयको मसाल जुलुस
फरकधार / २ माघ, २०७८

महोत्तरीको पिपरा गाउँपालिकामा सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । पिपरा गाउँपालिकामा भएको भ्रष्टाचार, अनियमितता, अपारदर्शिता विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको हो । 



गाउँपालिकाको कार्यालयमा सूचनाको हक, सुशासन र पारदर्शिता कायम गर्नका लागि समितिले मसाल जुलुस मार्फत आन्दोलनको शुरुवात गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका स्थानीय नेता विनीत पाण्डेयले बताए । गाउँपालिका अध्यक्ष विक्रम चौधरीले एउटा पनि कानून निर्माण नगरी असक्षमता प्रदर्शन गरेको उनको आरोप छ ।

उनले अध्यक्ष चौधरीले स्थानीय कानून नबनाउनु, प्रदेश र संघीय कानूनको कार्यान्वयन र परिपालन नगराउनु, सुशासन कायम नगर्नु, पारदर्शिता नगर्नु, कुशासनलाई बढावा दिनुलगायतका गतिविधिहरु गरेर स्थानीय जनताका लागि अभिशापको रुपमा स्थापित भइरहेको आरोप समेत लगाए ।



गाउँपालिका अध्यक्ष चौधरी भ्रष्टाचारमा आफै संलग्न हुनुका साथै सम्पूर्ण कर्मचारीतन्त्रलाई पनि संलग्न गराएर निकम्मा, गैरजिम्मेवार, गैरजवाफदेही, असक्षम एवं भ्रष्ट अध्यक्षको रुपमा स्थापित भएकोले त्यसको विरुद्धमा खबरदारी गर्न आन्दोलनको शुरुवात गरिएको पाण्डेयले बताए । 



सोमबारदेखि गाउँपालिका कार्यालयको मूल गेटमा धर्नामा समेत बस्ने उनले जानकारी दिएका छन् । आइतबारको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, युवा, विद्यार्थी तथा नगरवासीको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १९:५९:२७,   अन्तिम अपडेट : माघ २, २०७८ आइतबार २०:९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया