उपत्यकाका अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै
अन्य रोगका बिरामीमा कोरोना देखिँदा उपचारमा समस्या

कोरोना भाइरसको अर्को लहर फैलिएको छ । नेपालमा पछिल्लो एक हप्ताको रेकर्ड हेर्ने हो भने दैनिक १ हजारभन्दा माथि संक्रमित भइरहेका छन् । 

पछिल्लो एक हप्ताको आँकडा हेर्दा पुस २६ गते १ हजार ४४६ जना, २७ गते २ हजार ४४४ जना, २८ गते ३ हजार ७५ जना, २९ गते ३ हजार ५५३ जना, ३० गते ५ हजार ८७ जना, माघ १ गते ४ हजार ६३६ जना माघ २ गते ४ हजार ९६१ जना संक्रमित भएका छन् । 

अन्य रोगका बिरामीमा कोभिड देखिँदा उपचारमा सास्ती 

यसरी दैनिक रुपमा संक्रमण थपिँदै जाँदा अस्पतालमा पनि बिरामीको संख्या बढ्न थालेको छ । संक्रमण पुष्टि हुनेको संख्या बढे पनि अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थामा भने निकै कम बिरामी पुगेको अस्पतालका चिकित्सकहरु बताउँछन् । दैनिक एक हजारजतिमा संक्रमण भए पनि अस्पतालमा भने औसत रुपमा ७ देखि १० जनासम्म मात्रै भर्नाका केसहरु आउने गरेको पाटन अस्पतालका डाक्टर रवि शाक्यले जानकारी दिए । 

उनी भन्छन्, ‘भर्ना नै हुने बिरामीको संख्या कम भए पनि पिसिआर गर्ने बिरामी भने ह्वात्तै बढेका छन् । जसमा १०० जनाको परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आउने गरेको छ ।’ 

पाटनमा हाल कोभिड संक्रमित बिरामी ५० जना रहेका छन् । तीमध्ये आइसियूमा ६ जना रहेका छन् । उनका अनुसार, कोभिड पोजेटिभ भएका बिरामीमा अन्य रोग बढ्दा समस्या थपिएको छ । उनले भने,‘डेलिभरी केसका महिलामा कोरोना पोजेटिभ देखिएको छ । खुट्टा भाँचिएका अवस्थामा कोभिड पोजेटिभ देखिएको छ । यस्तो हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ ।’



टेकु अस्पतालमा बिरामी कम 

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा भने सोमबारसम्ममा १२ जना मात्र बिरामी रहेका छन् । जसमध्ये आइसियुमा ५ जना १ जना भेन्टिलेटरमा रहेका छन् । संक्रमणदर बढ्दो भए पनि अस्पतालमा खासै चाप नपरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए ।  



बलम्बुमा स्टाफमा संक्रमण देखिँदा उपचारमा समस्या हुने डर

सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भने बिरामीको चाप बढ्न थालेको छ । सोमबार बलम्बु अस्पतालमा १५० जना रहेका छन् । जसमध्ये आइसियूमा ७ जना र भेन्टिलेटरमा २ जना बिरामी रहेका छन् । 

बिरामीको चाप विस्तारै बढ्दै गएको बलम्बु अस्पतालका सूचना अधिकारी डाक्टर प्रवीन नेपालले जानकारी दिएका छन् । अस्पतालमा बिरामी बढे पनि बिरामी दोस्रो लहरको जस्तो सिकिस्त हुने बिरामी भने कम रहेको डाक्टर नेपालले जानकारी दिएका छन् ।

डाक्टर नेपाल भन्छन्, ‘पहिलाको जस्तो त हुँदैन कि भन्ने आशा छ । अहिलेसम्मको अवस्था हेर्दा सिकिस्त हुने बिरामी कम छन्,’ उनले भने, ‘दोस्रो लहरमा यति मानिसमा संक्रमण देखिएको भए अहिलेसम्म अक्सिजनको कमी तथा आइसियू भेन्टिलेटर भरिने अवस्था हुन्थ्यो होला, तर अहिलेका बिरामी ६ देखि ७ दिनमा निको भएर घर नै फर्किने अवस्था रहेको छ ।’ 

अहिलेको बिरामीमा १५ प्रतिशतलाई मात्र अक्सिजनको आवश्यकता रहेको उनले जानकारी दिएका छन् । उनले भने, ‘अहिलेको भेरियन्ट बढी संक्रामक, तर तुलनात्मक रुपमा पहिलेको कोरोनाका लहरमा भन्दा कम शक्तिशाली देखिएको छ ।’

यसको कारण खोप तथा धेरैभन्दा धेरै म्युटेसन हुनु रहेको उनले बताएका छन् । उनले भने, अहिले अस्पताल भर्ना हुने बिरामीमा ८५ प्रतिशतभन्दा बढी व्यक्ति पूर्ण मात्रामा खोप लगाएका बिरामी छन् । त्यसैले पनि कम असर देखिएको हुन सक्छ ।’

त्यस्तै यो लहरको संक्रमणले भने अस्पतालका स्टाफहरुमा समेत कोरोना संक्रमण तीव्र रुपमा देखिएकाले यसै गतिमा कोरोना फैलिएमा निकट समयमा उपचारमा समेत समस्या हुन सक्ने उनले बताएका छन् । सोमबारसम्ममा मात्र ३२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको डाक्टर नेपालले जानकारी दिए ।  

यसरी स्वास्थ्यकर्मीमा संक्रमण देखिँदा उपचारमा समस्या देखिएको उनले बताए । उनले भने,‘ड्युटी रोटेसनमा समस्या भइसकेको छ । अझै संक्रमण थपिन सक्ने सम्भावना रहेको छ । त्यो भएमा अझ समस्या हुन सक्छ ।’

मेडिसिटीमा पनि फिभर सेक्सनमा बिरामीको चाप 

मेडिसिटी अस्पतालमा भने कोरोना सेक्सनमा भन्दा फिभर सेक्सनमा बिरामी बढेका छन् । कोभिडका बिरामी भने जम्मा २१ जना रहेका छन् । जसमा १२ जना बिरामी अब्जरभेसन वार्डमा रहेका छन् भने आइसियूमा ९ जना बिरामी रहेका छन् । 

दोस्रो लहरमा काठमाडौं उपत्यकामा भएका निजी अस्पतालमध्ये सबैभन्दा बढी कोभिडका बिरामी राखेको यस अस्पतालमा अहिले भने बिस्तारै बिरामी भर्ना हुने क्रम रहेको अस्पतालका जनरल म्यानेजर विजय रिमालले जानकारी दिएका छन् । 

  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार २१:४९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया