जनताका गीत गाउने कलाकारको राष्ट्रिय सभामा प्रवेश
फरकधार / १२ माघ, २०७८

‘हिजो जनताको मुक्तिको गीत गाइयो । अब गाइएका गीतअनुसार जनताका पक्षमा काम गर्न उम्मेदवारी दिएको छु ।’ 



२२ पुसमा तुलप्रसाद विश्वकर्माले फरकधारसँग भनेका थिए । राष्ट्रिय जनमोर्चाका उनी सत्तारूढ गठबन्धनका तर्फबाट गण्डकी प्रदेशमा उम्मेदवार थिए । 

बुधबार भएको निर्वाचनमा उनी एमालेका कृष्ण सुनारलाई पराजित गर्दै निर्वाचित भएका हुन् । राजनीतिमा उनको प्रवेश जनवादी कलाकारिताबाट भएको हो । 



बहुदल आएपछि रेडियो नेपालबाट सर्वाधिक उनको गीत बज्यो – धौलागिरि छायामा । जनतालाई सिर्जना बत्ती बाल्दै प्रगतिपथमा लम्किन उनको आह्वान छ । समाजमा पुँजीवादको अवशेषको रूपमा रहेको शोषक र सामन्तीविरुद्ध अजेय शक्ति जनतामा हुने सन्देश प्रवाह भएको छ । गीतको शब्द र स्वर उनै राष्ट्रिय सभा सदस्य विश्वकर्माकै हो । 



६३ बर्से उनले कैयौँ जनवादी गीत गाएका छन् । रक्तिम सांस्कृतिक परिवारले निकालेको भाग–१, भा–(२ र भाग– ३ मा रहेका अधिकांश गीतमा विश्वकर्माकै शब्द र स्वर छ । 

हरेक गीत समाजमा उत्पीडनमा परेका जनताको अधिकारसँग सम्बन्धित छन् । उनीहरूको मुक्तिसँग सम्बन्धित छन् । शासकलाई जनअधिकार विरुद्ध नउभिन खबरदारी छ । 

यसरी जनवादी गीत–संगीतबाट राज्य व्यवस्थामाथि धावा बोल्ने उनै जनवादी कलाकार विश्वकर्माको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यमा प्रवेश भएको छ । 

प्रधानाध्यापक छाडेर भूमिगत

पञ्चायतकालमा दलीय गतिविधिमाथि प्रतिबन्ध थियो । अझ कम्युनिस्टलाई त अघोषित रूपमै पञ्चायती सरकारले प्रधान शत्रु ठानेको थियो । चर्को दमन थियो । 

त्यही समयमा उनको राजनीतिक झुकाव कम्युनिस्ट विचारधारा बोकेको राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चासँग भयो ।

उनलाई कम्युनिस्ट राजनीतिमा उत्प्रेरित गर्ने जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुन् । केसीलाई विश्वकर्मा राजनीतिक गुरु मान्छन् । उनै केसीले वामपन्थी राजनीतिमा कक्षा ५–६ मा पढ्दादेखि नै लाग्न प्रेरित गरेको विश्वकर्माको भनाइ छ । 

‘मैले राजनीति सुरु गरेको विद्यार्थीकालबाटै हो । बागलुङको तत्कालीन भरत चैतन्य निमाविमा ५–६ क्लासमा पढ्दादेखि नै विद्यार्थी राजनीति तत्कालीन अखिलबाट सुरु गरेँ । पछि अखिल छैठौँ र सातौँ भयो र राजनीतिक गुरु हुनुहुन्थ्यो चित्रबहादुर केसी । उहाँकै प्रेरणाबाट कम्युनिस्ट भएँ । स्कुलमा उहाँको चेला पनि हुँ । उहाँ हेडमास्टर हुनुहुन्थ्यो ।’

आइएसम्मको अध्ययन पूरा गरेका उनीसँग ५ वर्ष शिक्षण गरेको अनुभव छ । सोही अवधिमा प्रधानाध्यापक भएर बाग्लुङको शीतलपाटी निमाविमा शिक्षण गरे ।

तर, वाम राजनीतिमा रुचि बढ्दै गएपछि प्रधानाध्यापक पदबाट राजीनामा दिए । जनमोर्चामा पूर्णकालीन सदस्य भएर भूमिगत भए । 

उनका अनुसार पार्टीले २०३६ मा भारत पठायो । भारतमा रहेका नेपालीहरूलाई संगठित गर्न पठाएको थियो ।

संगठन निर्माण गर्ने क्रममा दक्षिण भारतमा तीन वर्ष र पञ्जावसहित दिल्लीमा गरी डेढ वर्ष बसे । सोही अवधिमा उनी ‘अखिल भारत–नेपाली एकता समाज’को संगठक भएर काम पनि गरे ।

त्यसपछि अखिल भारत–नेपाली वामपन्थी युवक मोर्चाको संस्थापक महासचिव पनि बने । यसरी भारतमा रहेका नेपालीहरूलाई संगठित गरेर उनी २०४१ मा नेपाल फर्किए । 

फर्किएपछि उनी पार्टी मातहतको जातीय समता समाजको न्युक्लियस बन्दा टिममा रहे । २०४५ मा भारतको गोरखपुरमा भएको भेलाबाट अध्यक्ष चुनिए । हालसम्म उनी अध्यक्ष छन् ।
रक्तिम सांस्कृतिक परिवारको संस्थापकमध्येका उनी एक हुन् । पार्टीअन्तर्गतको अखिल नेपाल जनसांस्कृतिक संगठनको संस्थापक संयोजक नै हुन् । 

राजनीतिक रूपमा भने उनी यसअघि २०५६ मा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा निर्वाचनमा जनमोर्चाका उम्मेदवार थिए । पराजित हुन पुगे । तर, २२ वर्षपछि भने राष्ट्रियसभा सदस्य भएका छन् । 

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:२९:४१,   अन्तिम अपडेट : माघ १२, २०७८ बुधबार १७:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया