मनाङ आहा रारा गोल्डकपको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

मनाङले बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी  सुटआउटमा ४-३ ले पराजित  गरेको हो ।

पेनाल्टीमा मनाङका  फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले ओलाडिपो अफिजले गोल गरे । विश्व अधिकारीको प्रहार  पोलमा लाग्दै फर्कियो ।

आर्मीका कप्तान भरत खवास, जर्जप्रिन्स कार्की र विवेक बस्नेतले गोल गरे । दीपक गुरुङको प्रहार पोलमा लाग्दै फर्कंदा युद्ध शाहीको प्रहारलाई गोलरक्षक अशोक बरालले बचाए ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय  पेनाल्टीबाट लिइएको हो ।

दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग भने गर्न सकेनन् ।



१० औँ मिनेटमा कप्तान विमल रानाले पेनाल्टी चुकाउँदा मनाङ अग्रता लिनबाट चुकेको थियो ।

एडेलाजा सोमिडेको प्रहारलाई युद्ध शाहीले पेनाल्टी बक्समा हातले छोएपछि रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा विमलको प्रहार आकासिएको थियो ।



३५ औं मिनेटमा आर्मीले राम्रो अवसर खेर फाल्यो । जर्जप्रिन्स कार्कीको प्रहारलाई  मनाङका गोलरक्षक अशोक बरालले बचाए पनि रिबाउन्डमा कप्तान भरत खवासको हेडरले पोस्टको दिशा लिन सकेन ।

३९ औं मिनेटमा मनाङका एडेलाजा​ सोमिडेको हेडर प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४५ औं मिनेटमा आर्मीले अर्को सुनौलो अवसरलाई सदुपयोग गर्न सकेन । फ्रिकिकबाट आएको बलमा विमल पाण्डेको प्रहारलाई मनाङका गोलरक्षक अशोकले बचाए ।

५२ औं मिनेटमा राजेश परियारको फ्रिकिकमा क्लियर हुन नसकेको बलमा ओलावाले ​अफिजको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले डाइभ गर्दै उत्कृष्ट बचाउ गर्दा मनाङ अग्रता लिनबाट चुक्यो ।

५७ औं मिनेटमा जर्जप्रिन्सको फ्रिकिकमा विमल पाण्डेको डाइभिङ हेडरलाई आदित्य चौधरीले क्लियर गर्दै मनाङको खतरा टारे ।

मनाङले उपाधिका लागि शनिबार अर्को विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । एपिएफ मछिन्द्र क्लबलाई ३-१ ले हराउँदै फाइनल पुगेको हो ।

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १७:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया