ग्रामीण सडकमा बाक्लो हिउँ, तान्दै/घचेट्दै जोखिमपूर्ण जिपको यात्रा (तस्बिरहरू)

बाजुराको मार्तडी-कोल्टी सडकमा २० र २१ माघमा परेको हिउँ अझै बिलाएको छैन । पाँच दिनसम्म पनि हिउँ नपग्लिएपछि कच्ची सडकमा जोखिम मोलेर चालक सवारीसाधन चलाइरहेका छन् । 

हिउँले सडक अवरुद्ध भए पनि जिल्लाको बडिमालिका नगरपालिका–७ र बूढीनन्दाको वडा नम्बर ९ पोरखे क्षेत्रमा यात्रुहरू जिप तान्दै र घचेट्दै चलाइरहेका हुन्  । ‘पोरखे क्षेत्र लेकाली भेगमा पर्ने हुँदा सितिमिति हिउँ पग्लिँदैन, त्यसले गर्दा हिउँ जमेको ठाउँमा डोरीले तानेर भए पनि जिपको यात्रा गर्ने गरेका छौँ,’ स्थानीयसमेत रहेका पत्रकार छक्क मल्लले भने ।

पोरखे क्षेत्रमा ५ फिटसम्म हिउँ जम्छ । माघ २० र २१ परेको हिउँ अझै पनि २ फिटसम्म बाँकी नै रहेको उनले जानकारी दिए । ‘यो सडक कालोपत्रेका लागि पटक-पटक टेण्डर आह्वान भए पनि निर्माण हुन सकेको छैन, यसले गर्दा बाजुराको पूर्वी क्षेत्रका नागरिकहरूले पाउनु दुःख पाएका छन्,’ मल्लले भने ।

निर्माण कम्पनीले सडकको सामान्य काम पनि नगर्दा गाडी तानेर यातायात सञ्चालन गर्नु परेको स्थानीय बताउने गरेका छन् । मार्तडीदेखि कोल्टीसम्म ४० किलोमिटर कालोपत्रे गर्ने गरी प्रदेश र संघ सरकारबाट विनियोजन भएको थियो । 

यो सडकको तीन खण्डमा पूर्वाधार विकास कार्यलय अछामले टेण्डर गरेको छ । मार्तडीदेखि चुथिसम्म ९ किलोमिटर पहिलो खण्ड, चुथिदेखि ढम्कनेसम्म ५ किलोमिटर दोस्रो खण्ड र चुथिदेखि कोल्टीचौरसम्म २६ किलोमिटर ठेक्का गरेर कार्यालयले निर्माण कम्पनीलाई जिम्मा दिएको छ ।



२०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण भएको २२ वर्षसम्म पनि पूरा हुन सकेको छैन । बाजुरामा हिमपातका कारण ग्रामीण भेगका कच्ची सडक हिलाम्मे भएकाले यात्राका लागि समस्या भएको यातायात व्यवसायीले बताएका छन् । सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी हुँदा जिप सञ्चालन हुन सकेको छैनन् ।



  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ९:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया