सडकदेखि सदनसम्म एमसिसी : सत्तामै बसेर सडकमा आन्दोलन
फाइल फाेटाे

एकातिर प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना संसदमा टेबल गर्न दौडधुप गरिरहेका छन् । अर्कातर्फ एमसिसी परियोजनाको बिरोधमा सत्तारूढ गठबन्धनमै सामेल राजनीतिक दलका भातृ संगठनहरू दैनिकजसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म उत्रिएका छन्। 

पाँच दलीय गठबन्धनमा एमसिसीको विषयलाई लिएर सुरु भएको मतभेद अन्ततः गठबन्धन नजोगिनेरी विकसित भएको घटनाक्रमले देखाइरहेको छ । 

आज (शुक्रबार) नयाँ बानेश्वरमा सत्तारूढ दल माओवादी केन्द्रको भातृ संगठन (वाइसिएल)का नेता कार्यकर्ताहरू एमसिसीकाे विरोध गरिरहेका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले पनि दैनिक विरोध गरिरहेको छ । 

शीर्ष नेताहरूबीच नै सहमति जुटाउन नसकेपछि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका थिए । पत्नी आरजु राणासहित ओलीलाई भेट्न देउवा पुगेसँगै सत्ता गठबन्धन टुट्ने निश्चितजस्तै भइसकेको छ । 

आज बिहानमात्रै कांग्रेसबाहेकका गठबन्धनका चार दलका शीर्ष नेतालाई प्रचण्डले खुमलटार बोलाएर छलफल गरेका छन् । यो बैठकपछि पनि गठबन्धनका चार दलसँग नेपाली कांग्रेसको दुरी कम भएको बुझिन्छ । 

यता, सडकमा भने सत्तामै आसिन माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताको प्रदर्शनले भरिएको छ । उनीहरूले माओवादी केन्द्र जिन्दावाद, अमर सहिदहरू लालसलाम, एमसिसी चाहिँदैन, सिआइजेका दलालहरू होसियार, प्रतिक्रियावादीहरू मुर्दावाद, गो ब्याक एमसिसी, राष्ट्रघाती एमसिसी खारेज गर, माओवादी केन्द्र जिन्दावाद, एमसिसी चाहिँदैन, देश बेच्न पाईंदैन, शेरे तेरो पाराले, दुःख पाए साराले जस्ता नाराहरू लगाइरहेका छन् । 



सडकमा टायर बालेर यता एमसिसीविरुद्ध माहोल तातिरहँदा उता, त्यही बाटो प्रयोग गरेर नजिकै रहेको संसद भवनमा नेताहरू धमाधम गइरहेका छन् । एमालेसँग प्रधानमन्त्री देउवाले सहकार्य बढाएपछि सत्ता गठबन्धनका अन्य नेताहरू गठबन्धनको विरुद्धमा देखिएका छन् । 

आजको संसदमा एमालेले यसअघिजस्तै अवरोध कायमै राख्ने बताएको छ ।



  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १२:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया