म विश्वस्त छु कि रुसले आक्रमण गर्ने निर्णय गरिसकेकाे छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेकाेमा आफू विश्वस्त रहेको बताएका छन् ।

बाइडेनले यो आक्रमण आगामी दिनमा जुनसुकै बेला हुनसक्ने पनि बताए ।

अमेरिकी राष्ट्रपतिले अमेरिकी गुप्तचरकाे रिपाेर्टमा आधारित रहेर यस्ताे बताएका हुन् । तर, रुसले आक्रमणको तयारी गरेको अस्वीकार गरेको छ ।

युक्रेनी सीमामा एक लाख ६९ हजारदेखि एक लाख ९० हजारसम्म रुसी सेना तैनाथ भएकाे अमेरिकाकाे दाबी छ ।

बाइडेनले रुसले आक्रमण गर्ने निर्णयबारे आफू विश्वस्त भएको बताए । यसअघि अमेरिकी राष्ट्रपति र उनका अधिकारीहरूले यसबारे स्पष्ट गरेका थिएनन् ।

रुसले अझै पनि कूटनीतिको बाटो रोज्न सक्ने र तनाव कम गर्न वार्ताको टेबुलमा आउन ढिलो नभएको बाइडेनकाे भनाइ छ ।



यसअघि शुक्रबार युक्रेनका दुई क्षेत्रका नेताहरूले युक्रेनले गोलीबारी तीव्र पारेको र आक्रमणको योजना बनाएको भन्दै त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सार्ने घोषणा गरेका थिए ।

तर, युक्रेनले आक्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यसलाई रुसको नक्कली रिपोर्ट भएको भन्दै अस्वीकार गरेका छन् ।



  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १०:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया