एमसिसी 'प्रष्टिकरण'मा प्रचण्डले बोलेका ३ झुट

अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतामा ११ बुँदाको व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको छ । केहीअघिसम्म एमसिसी राष्ट्रघाती भएको भन्दै नेकपा माओवादी केन्द्रले यो सम्झौता संसदमा टेबल भएको खण्डमा आफूहरुले गठबन्धन छाड्ने अडान लिएको थियो । यसका लागि उसले संसदीय दलको बैठकसमेत गरेको थियो ।

तर, आइतबार विहान नेकपा माओवादी केन्द्रका नेताहरुको खुमलटारमा बसेको बैठकले एमसिसीमा व्याख्यात्मक टिप्पणी गरे पारित गर्न आफूहरु तयार रहेको निर्णय गरे । यही निर्णय लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा पुगे । बालुवाटारमा उनलाई पर्खिरहेका थिए, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । उनी पुगेलगत्तै बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बालुवाटारमा पुगे ।

बालुवाटारमा यी नेताहरुबीच एमसिसी सम्झौता पारित गर्ने सहमति भयो । सहमतिअनुसार आइतबार संसद बैठकले यसलाई अनुमोदन पनि गर्यो । प्रमुख प्रतिपक्ष नेकपा एमाले चाहिँ यो प्रक्रियामा सहभागी भएन । आफूले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारवाही गर्नु पर्ने र सभामुखबाट अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने मागसहित एमालेले गत भदौदेखि संसदमा अवरोध कायम गर्दै आएको छ । एमसिसीमाथि छलफल हुँदा र एमसिसी अनुमोदन हुँदासम्म एमालेले विरोध कायम राखिरह्यो, एमसिसीमा सत्तारुढ गठबन्धनका दल एक भए, पारित गरे ।

नेकपा माओवादी केन्द्रले यसअघि एमसिसीलाई राष्ट्रघाती बताउँदै आएको थियो, तर आइतबार एमसिसी अनुमोदन गर्दा उसले विशेष भूमिका खेल्यो । यसको विपक्षमा माओवादी केन्द्रका कार्यकर्ता मात्र होइनन्, नेताहरु पनि देखिएका छन् । नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गिरीराजमणि पोखरेल, लीलामणि पोखरेललगायतले यसको विरोध गरेका छन् । कतिसम्म भने नारायणकाजी श्रेष्ठले त एमसिसी पारित भएको दिनलाई नेपाली इतिहासमा कालो दिनका रुपमा लिनेसमेत बताएका छन् ।

पार्टीभित्र नेताहरुले समेत विरोध गरेपछि सोमबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसबारे प्रष्टिकरण दिन एउटा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले आफू एमसिसी पारित गर्ने क्षणसम्म कसरी पुगेँ भन्ने कुरालाई प्रष्ट्याउन खोजेका छन् । तर, यही कार्यक्रममा प्रचण्डले आफूलाई एमसिसीको पक्षमा जानु पर्ने कारणहरु बताउँदा केही झुट र केही अर्धझुटहरु बोलेका छन् ।

आउनुहोस्, उनले बोलेका झुटबारे चर्चा गरौँ ।



प्रचण्डले कार्यक्रममा एमसिसी पारित गर्नका लागि प्रधानमन्त्री देउवासहित हस्ताक्षर गरेर एउटा चिठी लेखेका थिए, एमसिसी कार्यालयलाई । एमसिसी कार्यालयलाई लेखिएको त्यो चिठीबारे प्रचण्डले बारम्बार यसअघि पनि झुट बोल्दै आएका थिए । उनले पहिले त आफूले कुनै चिठी नलेखेको दाबी गरेका थिए । उनको यस्तो दाबी आउन थालेपछि प्रधानमन्त्री देउवा सचिवालयले उक्त चिठी सार्वजनिक गरेको थियो । चिठी सार्वजनिक भएपछिको प्रसंगबारे आज प्रचण्डले पत्रकार सम्मेलनमा चर्चा गरेका थिए ।

‘त्यो चिठी आएपछि मलाई भिलेनजस्तो मानियो, डबल डिलरजस्तो गरियो,’ प्रचण्डले भनेका छन् । उनले एमसिसीलाई सकारात्मक ढंगबाट ल्यान्डिङ गर्न चिठी लेखेको पनि बताएका छन् । तर, त्यो चिठीमा उनले आफूहरुले एमसिसीबारे संशोधन गर्न चाहेको विषय चाहिँ उल्लेख गरेका छैनन् । एमसिसीमा कुनै संशोधन स्वीकार्य नहुने त्यसअघि नै अमेरिकाले बताइसकेको थियो । प्रचण्डले यही सम्बोधनमा आफूले यसमा संशोधन गर्नु पर्ने प्रस्ताव केपी ओली नेतृत्वको सरकार हुँदा नै गरेको पनि बताएका छन् । यसको अर्थ हो उनले चिठी लेख्नुभन्दा अगाडि नै संशोधनको विषयमा कुरा गरेका थिए । उनले ओली नेतृत्व सरकारमा नै आफूले संकल्प प्रस्ताव ल्याउने कि भन्ने विषयमा पनि चर्चा गरेको बताएका छन् । यस्तो हुन्थ्यो भने प्रचण्डले चिठीमा पनि आफूहरुले केही संशोधन गर्ने कुरा उल्लेख गरेका हुन्थे ।



‘उहाँले कहिल्यै एमसिसीमा संशोधन गरौँ भन्नुभएको थिएन,’ पछिल्लो समय एमसिसी पारित गराउन भूमिका खेलेका नेपाली कांग्रेसका एक नेता भन्छन्, ‘उहाँ त पार्टीमा मलाई दबाब भयो, एमसिसी अहिले पारित नगरौँ, चुनावपछि यसलाई संसदमा लैजाऔँ भन्ने पक्षमा हुनुहुन्थ्यो । संशोधन, संकल्प प्रस्तावका विषयमा त पछिमात्र कुराकानी भएका हुन् ।’ यसको अर्थ हो, प्रचण्डले आफूले संकल्प प्रस्तावबारे एक वर्षअघि नै विषय उठाएको भन्दै गरेको दाबी गलत हो ।

उनले यही सम्बोधनमा पछिल्लो समय गठबन्धन नै धरापमा पारिएको, लोकतन्त्र खतरामा परेकाले आफूहरुले व्याख्यात्मक टिप्पणी ल्याएर एमसिसी पारित गरेको बताएका छन् । यसबाट उनले दिन खोजेको आशय हो– हामीले एमसिसीमा संशोधन गरेका छौँ । तर, उनले यसमा के कुरा लुकाएका छन् भने व्याख्यात्मक टिप्पणीले एमसिसीसँग चार वर्षअघि गरिएको सम्झौतामा कुनै परिवर्तन आउँदैन । चार वर्षअघि एमसिसी सम्झौतामा जे विषयमा हस्ताक्षर भएको छ, त्यसमा यो व्याख्यात्मक टिप्पणीले कुनै परिवर्तन गर्ने छैन । त्यसैले उनले प्रष्टिकरणमा व्याख्यात्मक टिप्पणीलाई संशोधनका रुपमा प्रस्तुत गरेर अर्को झुट बोलेका छन् ।

दोस्रो, प्रचण्डले सम्बोधनमा भनेका छन्, उनले नै एमसिसीमा राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री देउवालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पठाएका हुन् । ‘मैले नै देउवालाई बरु तपाईं नै बालकोट जानुहोस् भनेको हुँ,’ प्रचण्डको दाबी छ । 

तर, प्रचण्डले यसो भन्दै गर्दा के बिर्सिएका छन् भने देउवा बालकोट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसी पारित नगर्ने निर्णयहरु गर्न थालेपछि पुगेका हुन् । एमसिसी अनुमोदनका लागि देउवाले प्रचण्ड र नेपाल सकारात्मक नहुने देखेपछि ओलीसँग सहकार्यको हात बढाएका थिए ।

प्रचण्डले पठाएरै देउवा बालकोट गएका हुन्थे भने नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले ओलीसँगको भेटपछि गठबन्धन फुटको डिलमा पुगेको अभिव्यक्ति दिँदैनथे । प्रचण्डले त्यसैले यसमा आफूलाई केन्द्रमा राख्ने सोच बनाएकाले एउटा सपाट झुट बोले ।

प्रचण्डले यही स्पष्टिकरणमा भनेका छन्– अमेरिकाले नेपालको ११ बुँदे व्याख्यात्मक टिप्पणी नमानेको खण्डमा एमसिसी खारेज हुन्छ । 

एमसिसी अनुमोदित भए पछि व्याख्यात्मक टिप्पणीबारे अनेक प्रश्नहरु जन्मिएका छन्, विभिन्न प्रश्न यसमाथि उठ्न थालेका छन् । प्रचण्डले यो व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गर्न पर्ने तर्क अगाडि सारेका छन् । मानौँ, यो व्याख्यात्मक टिप्पणी स्वीकार भएको खण्डमा एमसिसी सम्झौतामा भएका बुँदाहरुमा परिवर्तन आउँछ । बिर्सन के हुँदैन भने यो व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्ने वा नगर्ने भन्नेमा कुनै अर्थ छैन । यसै पनि यो टिप्पणी नेपाल एक्लैले गरेको हो, द्विपक्षीय रुपमा भएको होइन । यसको अर्थ हो, यसले एमसिसी सम्झौतालाई कुनै प्रभाव पार्दैन ।

जब संसदमा पारित भएको व्याख्यात्मक टिप्पणीले मूल सम्झौतालाई कुनै प्रभाव पार्दैन, त्यसलाई नै लिएर प्रचण्डले एमसिसी खारेज हुनसक्छ सम्मको अभिव्यक्ति दिएका छन् । यो उनले बोलेको सरासर झुट हो ।

यही पत्रकार सम्मेलनमा प्रचण्डले एमसिसी पारित भएको दिनलाई कालो दिनको संज्ञा दिएका नारायणकाजी श्रेष्ठबारे पनि एउटा टिप्पणी गरेका छन् । त्यसका लागि उनले वामदेव गौतम र महाकाली सन्धिलाई सम्झिएका छन् । श्रेष्ठले पार्टीसमेत छोड्न सक्ने जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भनेका छन्– राजनीतिमा सबै स्वतन्त्र छन् तर के बिर्सनु हुँदैन भने हिजो महाकाली सन्धिलाई राष्ट्रघाती भन्दै नयाँ पार्टी खोलेका वामदेवले एक सिट पनि जितेनन् । 

प्रचण्डले श्रेष्ठ फेरि माओवादी केन्द्रबाट अलग हुनसक्ने प्रशंगमा थपेका थिए, ‘एमसिसीलाई मुर्दावाद भन्ने हो भने त विचरा प्रेम सुवालका पछाडि कति हुन्थे होलान् ।’ श्रेष्ठले पार्टी नछोडुन् भन्ने उनको चाहना छ, तर, उनले यसका लागि पनि अर्धझुटको साहरा लिएका छन्, वामदेव गौतमको तत्कालीन पार्टीले एक सिट पनि नजितेको भन्दै । त्यति बेलाको र अहिलेको व्यवस्था फरक छ, त्यति बेला समानुपातिक भन्ने थिएन । गौतमको पार्टीले सात लाखभन्दा बढी भोट ल्याएको थियो, अहिले यति भोट ल्याउँदा प्रतिनिधिसभामा कम्तिमा २ सिट चाहिँ सुरक्षित हुन्छ ।

  • प्रकाशित मिति : फागुन १६, २०७८ साेमबार १७:५२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया