हेटौँडामा आँचलको आयोजनामा बृहत् साहित्य महोत्सव

मकवानपुरे महिला साहित्यकारको एक मात्र संस्था आँचल साहित्य कला पुञ्जले यही २० र २१ फागुनमा हेटौँडामा बृहत् साहित्य महोत्सव आयोजना गर्ने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत् साहित्य महोत्सवको आयोजना गरेको हो ।

साहित्यका विभिन्न विषय र साहित्य र समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्तरक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा,  दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने छ ।

महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकारबीच साहित्य आदानप्रदान हुने अध्यक्ष न्यौपानेले उल्लेख गरिन् । साहित्य, भाषा, तथा कलाको अहिलेको अवस्थाका बारेमा बहस हुने भएकाले साहित्यलाई अझ परिष्कृत र बलियो बनाउँदै लैजाने अपेक्षा महोत्सवबाट लिइएको उनको भनाइ छ ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जनाभन्दा बढी साहित्यकार आउने जनाइएको छ । मकवानपुरका साहित्यकार समेतको सहभागिता रहने महोत्सवमा साहित्यका विभिन्न क्षेत्रमा बहस हुने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् ।



उनका अनुसार महोत्सव फागुन २० गते शुक्रबार उद्घाटन हुनेछ ।  महोत्सवमा  ‘साहित्यमा राजनीति’ विषयमाथि बहस हुने छ । त्यस्तै महोत्सवमा कविता, गीत, गजल, मुक्तक वाचन कार्यक्रम रहेको सापकोटाले बताइन् ।

यस्तै, महोत्सवमा  ‘समकालीन कविताको मार्गचित्र’, ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहसको कार्यक्रम पनि रहेको सचिव सापकोटाले जानकारी दिइन् ।



हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महोत्सव अन्तर्गत  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहस भने पर्यटकीय स्थल गुम्बाडाँडामा हुने छ ।

यस्तै महोत्सवमा ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत हुने र त्यस माथि बहस हुने जनाइएको छ । यसबाहेक महोत्सवमा साङ्गीतिक कार्यक्रम, पुस्तक प्रदर्शनी, कला प्रदर्शनीसमेत हुने छ ।

महोत्सवमा  ‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका छन् भने यसको सहजकर्ता ठाकुर वेलबासे रहेका छन् । 

‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका छन् ।

यस्तै  ‘समकालीन कविताको मार्ग चित्र’ विषय माथि बहस गर्न भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका छन भने यसको सहजकर्ता निमेष निखिल रहेका छन् ।

यसैगरी  ‘भाषिक दृष्टिले साहित्यमा नारी’ विषयमा कार्यक्रम कार्यपत्र ज्ञानु अधिकारीले प्रस्तुत गर्नेछिन् । कार्यपत्र माथि  प्रणेता र राम अविकासले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार १३:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया