रुस अमेरिका सम्बन्धले 'तरबारको धार'मा भारत

युक्रेनमा रुसी आक्रमण सुरु भएको दशौं दिन भइसकेको छ । अहिले पनि युक्रेनका विभिन्न सहरमा रुसी सेनाले खसालेका र प्रहार गरेका बमहरुको विस्फोट सुनिएको छ । 

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आफूलाई सहयोग गर्न विश्वलाई आह्वान गरेका छन् । तर, रुसले पश्चिमा देशले उसमाथि लगाएका प्रतिबन्ध जति कडा बनाउँदै गएका छन्, आफ्नो आक्रमणलाई त्यति नै तेज बनाइरहेको छ ।

विश्वको ध्यान त्यसैले पनि अहिले रुस र युक्रेनमा खिचिएको छ । विश्वका शक्तिशाली देशहरु अहिले युक्रेन र रुसको युद्धलाई रोक्न प्रयास गर्ने पक्षमा छन् । अनि यसमा सबैभन्दा महत्त्वपूर्ण भूमिका मानिएको छ, भारतको पनि ।

विदेश मामिलाका जानकार भारतीय विज्ञहरुले अहिले सबैभन्दा ठूलो चुनौतिको सामना नै भारतले गरिरहेको बताउन थालेका छन् । 

उनीहरुले अहिलेको अवस्था भारत एउटा तरबारको धारमा रहेको अवस्था भएको बताएका छन् । रुस र अमेरिका दुवैसँग राम्रो सम्बन्ध भएकाले भारतलाई यो समस्या परेको हो ।

भारतका पूर्वकुटनीतिज्ञ तथा विदेश मामिलाका विशेषज्ञ मानिने नवतेज सरनाले बिबिसीको हिन्दी संस्करणसँग यस विषयमा कुरा गरेका छन् । सरनाले अहिलेसम्म भारतले दुवै देशसँग सम्बन्ध राख्न सफल भए पनि अबका दिनमा यो ठूलो समस्या हुने बताएका छन् । यसलाई उनले भारतको चुनौतिका रुपमा चित्रण गरेका छन् ।



त्यसमाथि पछिल्लो समय अमेरिकाले भारतलाई रुसमाथि आफ्नो अडान स्पष्ट पार्न निकै ठूलो दबाब दिइरहेको छ । बिहीबार मात्र क्वाडको बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि गरिरहेको आक्रमणमा कुनै वाहना नचल्ने टिप्पणी गरेका थिए । उनको यो टिप्पणीलाई उनको भारतप्रतिको चेतावनीका रुपमा भारतीय विशेषज्ञहरुले लिन थालेका छन् । किनकि क्वाडमा भएका अरु देश जापान, अष्ट्रेलियालगायतले रुसी आक्रमणको विरोध जनाइसकेका छन् । तर, भारतले यस विषयमा अहिलेसम्म केही बताएको छैन ।

त्यसो त बुधबार अमेरिकी सिनेटमा भएको बैठकमा पनि भारतको अहिलेको अवस्थाको विषयमा व्यापक आलोचना गरिएको थियो । अमेरिकाका दक्षिण एशियाली मुद्दाहरु हेर्ने मन्त्री डोनाल्ड लूले अमेरिकी अधिकारीहरुले यो विषयमा भारतसँग तत्काल छलफल गर्नु पर्ने बताएका थिए ।



भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भएको भोटिङमा पनि भाग लिएको थिएन । नेपालले चाहिँ यो मतदानमा युक्रेनको पक्षमा मत हालेको थियो । मतदानमा भाग नलिए पनि भारत कहिल्यै युद्धको पक्षमा नभएको सरनाले टिप्पणी गरेका छन् ।

भारतले गत वर्ष मात्र अमेरिकासँग नयाँ केही सम्झौताहरु गरेको थियो । यसले भारतको अर्थतन्त्र र सुरक्षा खर्चमा ऊ अमेरिकासँग निर्भर हुने वातावरण सिर्जना गरेको थियो । अर्कोतिर भारतले सुरक्षाका लागि आवश्यक हातहतियार रुससँग किन्दै आएको छ । त्यसैले पनि अमेरिका र रुस दुवैसँग आफ्नो सम्बन्धलाई थप बलियो बनाउने पक्षमा भारत छ ।

सन् २०१८ मा मात्र भारतले रुससँग सर्फेस टु एयर मिसाइलको आपूर्तिका लागि ५ सय करोड अमेरिकी डलरको सम्झौता गरेको थियो ।

रुसले अहिलेसम्म यो सम्झौता लागु भइरहेको र युक्रेनमा भएको युद्धले यसलाई कुनै असर नगर्ने बताएको छ । तर, भारतले यसलाई कायम राखेको खण्डमा उसको र अमेरिकाको सम्झौतामा दरार उत्पन्न हुने अवस्था बनेको छ । यसका कारण पनि पछिल्लो समय भारत अमेरिका र रुससँगको सम्बन्ध बिग्रन सक्ने चुनौतिहरुका कारण चिन्तित छ ।

  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १२:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया