प्रचण्डको दाबी : आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी, सम्भावना कति ?
फाइल तस्वीर

'२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो’ प्रचण्डको आइतबार बिहानको भनाइ हो यो ।

आज कास्कीको पोखरामा मात्रै होइन, बेला–बेलामा प्रचण्ड यस्तै उत्तेजित भाषण दिन्छन् ।

गत २५ मंसिरमा प्रचण्डले माओवादीलाई हराउने तागत कोहीसँग नभएको दाबी गरेका थिए । सात प्रदेश र दुइटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उनले कार्यकर्तालाई पहिलो नम्बरको पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिएका थिए ।

त्यसयता प्रचण्डले माओवादी आगामी निर्वाचनमा पहिलो नम्बरको पार्टी बन्ने दाबी गरिरहेका छन् ।

४ असोजमा सहिद सूर्यनाथ राना यादवको ३६ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पनि उनले सोही अभिव्यक्ति दिएका थिए ।

पहिलो बन्ने आधार छ ?



प्रचण्ड जसरी पनि तीनै तहको निर्वाचनमा गठबन्धन कायम राख्नुपर्ने ढिप्पी कसिरहेका छन् । शान्ति प्रक्रियापछि ०६४ सालमा पहिलो पार्टी बनेको माओवादी केन्द्र ०७४ को स्थानीय तहको निर्वाचनमा तेस्रो बन्न पुगेको थियो ।

त्यसोत, टुक्रा-टुक्रामा विभाजित भएको माओवादी केन्द्र वर्तमान अवस्थामा संसदमा जम्मा ४८ जनाको उपस्थित छ । तर, प्रचण्डले भने पार्टी १ नम्बर बन्ने ‘विश्वासिलो आधार’ भएको दाबी गरेका छन् ।



प्रचण्डले भनेका छन्, ‘मधेसको ४/५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’

१० वर्ष लामो सशस्त्र संघर्षबाट विस्तृत शान्ति सम्झौता हुँदै शान्तिपूर्ण राजनीतिमा आउँदा तत्कालीन नेकपा माओवादी राष्ट्रिय राजनीतिको निर्णायक नै थियो ।

०६४ को निर्वाचनमा पहिलो पार्टी बन्न सफल माओवादीबाट मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलगायतले साथ छाडेपछि माओवादीको शक्ति क्षयीकरण हुन थालेको थियो ।

अझ, एमालेसँगको एकता टुटेपछि रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझीलगायतले पनि साथ छाडे । त्यसपछि प्रचण्ड र माओवादी अझै कमजोर भएको टिप्पणी राजनीतिक वृत्तमा व्याप्त छ ।

एमालेका नेताहरूसमेत तानेर माओवादीलाई ठूलो बनाउने आन्तरिक सोच बनाएका प्रचण्डले उल्टै आफ्ना नेता गुमाएपछि माओवादी कमजोर भएको प्रष्टै देखिन्छ ।

नेपालको राजनीतिमा प्रचण्डलाई पछिल्लो समय अस्थिरताको विम्बका रूपमा अर्थ्याउँछन् । कुनै बेला नामजस्तै प्रभाव राख्ने ‘प्रचण्ड’ विस्तारै कमजोर बन्दै गएको टिप्पणी भइरहँदा उनले यो निर्वाचनमा पहिलो दल बन्छौँ भन्नुको तालमेल नमिलेको प्रष्ट देखिन्छ ।

निर्वाचनको संघारमा सबै दलले आफूलाई बलियो देखाउने प्रयास गर्नु सामान्य हो । तर, राष्ट्रिय राजनीतिमा कांग्रेस र एमाले निर्णायक शक्तिका रूपमा रहिरहेका बेला प्रचण्डले दाबा गरेजस्तो निर्णायक हैसियत बनाउन सक्लान ? चुनावसम्म कुर्नै पर्छ ।

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १९:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया