झापाली भक्का अब काठमाडौंमा ! भक्का बनाउन करारमा आदिवासी महिला !

काठमाडौं– ६ वर्षअघि झापा धुलावारीकी पवित्रा दनुवार वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगिन् । घरको आर्थिक अवस्था दयनीय बन्दै गएपछि पवित्रा विदेश भासिएकी थिइन् । 

सामान्य लेखपढसमेत नगरेकी पवित्रा देशमा आयआर्जनको गतिलो उपाय नदेखेपछि घरायसी कामदारका रुपमा २ वर्षका लागि कुवेत पसिन् । १८ वर्षमै विवाह बन्धनमा बाँधिएकी पवित्रा कुवेतबाट फर्किएलगत्तै ज्यालादारी काममा लागिन् । 

बिहानको घामसँगै संगीहरुसँग कहिले हँसिया बोकी खेतबारीमा त कहिले घर बनाउने ठाउँमा ‘राज मिस्त्री’को रुपमा काम गर्दा पवित्रा घाम अस्ताएको पत्तै पाउँदिनथिन् । 

ज्याला–मजदुरीकै क्रममा एक महिनाअघि पवित्रा धानबालीमा उम्रिने अन्य जातका धान छुट्याउने काममा व्यस्त थिइन् । उनलाई काठमाडौंमा भक्का बेच्ने अफर आयो, त्यो पनि १५ हजार मासिक तलबमा । 

झापाको भक्का प्रालिले राजवंशी समुदायसँग सहकार्य गरी काठमाडौंमा भक्का बेच्ने तयारी गरेको थियो । सोहीअनुरुप, ३ महिनाका लागि भक्का बेच्न राजवंशी समुदायका ८ महिलासँगै गत मंसिरमा काठमाडौं आइन् उनी । 

कम्पनीले नै उनीहरुलाई खानबस्न दिएको छ । उनीहरुमध्ये दुईजना चिसोले र एकजना काम विशेषले झापा फर्किएका छन् । बानेश्वर, बागबजार, रत्नराज्यलक्ष्मी क्याम्पस, मैतीदेवी र अनामनगरमा उनीहरुको ‘भक्का स्टल’ छ । 



हामीले प्रत्येक भक्काबाट एक रुपैयाँ बनाउनेलाई कमिसन छुट्याएका छौँ, र दुई रुपैयाँ वृद्धाश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छौँ,’ भक्का प्रालिका अध्यक्ष अनिरुद्र तिम्सिना बताउँछन् ।

झापाका आदिवासी समुदायको मौलिक खानालाई देशभर पुर्याउने अभियानका साथ लागिपरेको अध्यक्ष तिम्सिना बताउँछन् । उनी भन्छन्, ‘३ जना मिलेर यो अभियान चलाइरहेका छौँ ।’



भक्काको पिठो बनाउन चामललाई राम्ररी भिजाउनुपर्छ । ‘हामी दैनिक ५० केजी चामल भिजाएर मिलमा पिसाउँछौँ,’ तिम्सिना भन्छन्, ‘र, पिठो बनाएर सबैलाई बराबर बाँड्छौँ । आफूले बेच्ने भक्का उनीहरु आफैँ तयार गर्छन् ।’ 

एउटा भक्काको ३० रुपैयाँ र डबल भक्काको ५० रुपैयाँ मूल्य राखिएको छ । भक्का काठमाडौंवासीले रुचाएकोमा खुसी छन् उनी । उनी थप्छन्, ‘बिहान ५ बजेदेखि मध्याह्नसम्म भक्का बिक्री हुन्छ । त्यसपछि सबै हरिसिद्धि ललितपुरमा हामीले भाडामा लिएको सिंगो घरमा जम्मा हुन्छन् । त्यहीँ सबैलाई खानेबस्ने व्यवस्था गरेका छौँ ।’ 

भक्का बनाउनका लागि सबै उपकरणको व्यवस्था कम्पनीले नै मिलाएको हो । 

अनामनगरमा भक्का बेच्दै आएकी पवित्रालाई बेच्न भ्याइनभ्याइ भएको देखिन्छ । ‘अधिकांश ग्राहक भक्कासँग टमाटर र टिमुरको अचार रुचाउँछन्,’ उनी भन्छिन्, ‘सबैले मन पराएका छन् । बनाउन भ्याइनभ्याई हुन्छ ।’

  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १९:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया