माधव नेपाल सुपरमार्केटजत्रो पार्टी छाडेर झुपडीमा जानु'भो : पृथ्वीसुब्बा गुरुङ
फाइल तस्वीर

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिएका छन् । 

नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली​ नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको टिप्पणी गरे । 

‘हाम्रा पार्टीका नेता लोभिपापी हुन् । माधव नेपालले निकै ठूलो काम गर्नुभयो । सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन । अधिकार जमाउन सक्नु भएन । चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ।

नेकपा एमालेलाई संघीयता विरोधी भन्नेहरूलाई प्रश्न गर्दै उनले भने, ‘संघीयताको पक्षधर भनेको कस्तो हुनुपर्छ ? माधव नेपाल जस्तै सडक गएर रुनेहरू हुन् संघीयता पक्षधर !’ विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको उनको आरोप छ । अगाडि थप्दै भन्छन्, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ । त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नु बाहेक अरू उपाय हुनेछैन । सबैले उहाँलाई छोड्छन् ।’  

नेकपा एमाले क्रान्तिकारी भएन भनेर छाडेका उनीसँग कुनै सिद्धान्त नभएको उपमहासचिव गुरुङको जिकिर छ । ‘नेकपा एमाले क्रान्तिकारी भएन । मुलुक निर्माण नगर्ने भो । मुलुकमा क्रान्ति नल्याउने भो । समाजवाद नल्याउने भो भनेका उनले कुन सैद्धान्तिक आधार बनाएका छन् त ? मार्गदर्शन के छ उहाँसँग ? कुनै न कुनै वाद त उहाँसँग हुनपर्‍यो नि’, उनले भने, ‘अध्यादेशबाट बनेको कुनै पनि पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन ।’ अरू कसैको डिजाइनमा नेकपा एमालेलाई कमजोर गराउन प्रतिकृयावादीसँग सहकार्य भएर सरकार बनेको उनको भनाई छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने बताएका छन् । गुरुङले एमालेको गतिलाई छेक्ने तागत कसैको नभएको जिकिर गरे ।



केन्द्रीय सदस्य भगवती न्यौपानेले पुँजीवादीको नेतृत्वमा समाजवाद ल्याउने भन्दै माधव नेपालले भ्रम छरेको आरोप लगाइन् । माधव नेपालले आफ्नो खुट्टा काटेर हिँड्न नसक्ने भएपछि कांग्रेससित हे प्रभु भन्दै खुट्टा मागिरहेको उनको टिप्पणी छ ।



  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १९:४५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया