फुटको संघारमा विवेकशील साझा

काठमाडौं– वैकल्पिक राजनीतिको नारासहित उदाएको विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ । एक संयोजक रवीन्द्र मिश्रको कार्यशैली स्वेच्छाचारी भएको आरोप लगाउँदै अर्का संयोजक उज्ज्वल थापाले समीक्षा प्रतिवेदन सार्वजनिक गरेपछि पार्टी फुट्ने सम्भावना देखिएको हो ।

मिश्र नेतृत्वको साझा पार्टी र थापा नेतृत्वको विवेकशील नेपाली पार्टीबीचको एकताबाट गतवर्ष निर्माण भएको विवेकशील साझा पार्टी एक वर्षमै चरम गुटबन्दीको सिकार भएको छ । पुस १६ गते ‘विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा’ शीर्षक प्रतिवेदन संयोजक थापाले पार्टीमा छलफलै नगरी सिधै मिडियामा सार्वजनिक गरेपछि गुटबन्दी सतहमा देखिएको हो ।

प्रवक्ता सूर्यराज आचार्यले पार्टी केन्द्रीय समिति र संयोजन समिति दुवैलाई बाइपास गरेर थापाले प्रतिवेदन सार्वजनिक गरेको आरोप लगाएका छन् । ‘उहाँले जुन शैली अपनाउनुभयो, त्यो ठीक भएन,’ आचार्यले भने, ‘छलफल नगरेरै मिडियामा प्रतिवेदन सार्वजनिक गर्दा पार्टीलाई अप्ठ्यारो पर्यो ।’

संयोजक थापाले भने आफ्नो प्रतिवेदनमा पार्टीभित्र छलफल गर्ने वातावरण नै नभएको जिकिर गरेका छन् । केही व्यक्तिको विचारमा मात्रै पार्टी चलाउन खोजिएको आरोप लगाउँदै थापा प्रतिवेदनमा लेख्छन्, ‘पर्याप्त छलफलविना केही सीमित व्यक्तिको विचार पार्टीको विचारको रुपमा स्थापित गर्न खोजिएको छ ।’

१८ पृष्ठ लामो प्रतिवेदनमा थापाले संयोजक मिश्रप्रति लक्षित गर्दै एक व्यक्तिमा चरम शक्ति केन्द्रीकरण गरिएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘आलंकारिक र तदर्थ संयोजकलाई शक्तिशाली कार्यकारी संयोजकको रुपमा प्रस्तुत गर्न थालिएको छ ।’

प्रतिवेदनमा उल्लिखित विषयहरुमा पार्टीभित्रै छलफल गर्न सकिने बताउँदै प्रवक्ता आचार्यले थापाको शैलीको आलोचना गरे । तर, संयोजन समिति सदस्य अनुपमा यादवले थापाले उठाएका विषयमा छलफल हुने नहुने निश्चित गर्न नसकिने बताइन् । ‘छलफल हुन्छ भन्ने स्थितिमा हामी छैनौँ र हुन्न भन्ने स्थितिमा पनि छैनौँ,’ यादवले अगाडि भनिन्, ‘समयको मागअनुसार छलफल हुने नहुने कुरा तय हुन्छ ।’



संयोजन समितिकै अर्का सदस्य मुमाराम खनालले भने थापाको प्रतिवेदनलाई आधिकारिक मान्न नसकिने बताए । उनको स्पष्टोक्ति छ, ‘यसमा पार्टीले गम्भीर छलफल गर्छ ।’

थापाको नाम उल्लेख नगरेरै खनालले फेसबुकमा पनि आक्रोश पोखेका छन् । ‘आफैँ मुख्य नेतृत्वमा छ, आफैँ पूर्णतः निष्क्रिय छ र आफैँ पूर्णतः अकर्मण्य छ । आफैँ जवाफ दिनुपर्ने ठाउँमा छ, तर उसैले प्रश्न मात्र सोध्छ,’ उनले लेखेका छन्, ‘यदि पार्टी बिग्रिएकै हो भने उसकै निष्क्रियताले हो । जवाफदेहिता चाहिँदैन ? नेतृत्व गर्ने हो भने जवाफदेही होऊ । नेतृत्वले प्रश्न मात्र गर्ने होइन, उत्तर दिने हो ।’  



मिश्रमाथि थापाका आरोप

ठूला पार्टीलाई भ्रष्ट करार गर्दै देश बिगार्नमा नेताहरुको आचरण जिम्मेवार रहेको व्याख्या गर्ने गरेका संयोजक मिश्रमाथि अहिले त्यस्तै आरोप लागेको छ ।

सामूहिक नेतृत्वको अवधारणालाई पन्छाउँदै एकल नेतृत्वमा पार्टी चलाउन खोजेको मात्र होइन, पार्टीमा आर्थिक पारदर्शितासमेत नभएको आरोप थापाले सार्वजनिक गरिसकेका छन् ।

आर्थिक विवरण सार्वजनिक गर्न नसकेको र अनुदार हुँदै गएको आरोप मिश्रलाई लागिरहँदा पार्टीभित्र दुई गुटको लडाइँ उत्कर्षमा पुगेको हो । पार्टी स्रोतका अनुसार एक वर्षअघि मात्र एक भएका दुई पार्टी अहिले दुई गुटमा स्पष्टतः विभाजित भएका छन् ।

यस सन्दर्भमा संयोजक मिश्रले कुनै प्रतिक्रिया दिन चाहेनन् । अर्का संयोजक थापाले फोन नै उठाएनन् । यो समाचार तयार पार्दासम्म दुवै संयोजकका बीच कुनै प्रकारको छलफल भएको छैन । दुवै पक्ष आ–आफ्नो खेमामा भने सघन छलफलमा रहेको बताइएको छ ।

पार्टीका एक केन्द्रीय सदस्यका अनुसार थापाले पटकपटक केन्द्रीय समितिमा छलफल गर्न खोजेका थिए, तर उनको कुरा सुनुवाइ नै भएन । प्रतिवेदन सार्वजनिक भइसकेपछि भने यही विषयमा छलफल गर्न आइतबार केन्द्रीय समितिको बैठक बोलाइएको छ । 

  • प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार १८:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया