विदेश जान लागेका युवालाई राहदानी दिँदै श्रममन्त्रीले भने– पाँच वर्षभित्रै वैदेशिक रोजगारीको बाध्यता अन्त्य हुन्छ

पोखरा– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको आज शुभारम्भ गरे । उक्त कार्यालयले आजैदेखि वैदेशिक रोजगारमा जाने व्यक्तिलाई श्रम स्वीकृति प्रदान गर्नेछ । 

आगामी दिनमा यस कार्यालयबाट नै वैदेशिक रोजगारमा जानेलाई श्रम स्वीकृति प्रदान गरिने उद्देश्यका साथ यो कार्यालयको स्थापना भएको हो । सो अवसरमा मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौँ युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएकाले पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास प्रकट गरे । 

उनले नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौँ जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको बताए । उनले स‌ंघीय सरकारले वैदेशिक रोजगारमा जानेको सुलभताका लागि सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गर्न लागेको उल्लेख गर्दै ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागेको जानकारी गराए ।

मन्त्री विष्टले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहिनेत आवश्यक रहेको स्पष्ट पारे । 

सो अवसरमा मन्त्री विष्टले वैदेशिक रोजागारमा मकाउ जान लागेका नवलपरासीका खड्गबहादुर गुरुङ र युनाइटेड अरब इमिरेट्स जाने लागेका चन्द्रबहादुर गुरुङलाई राहदानी प्रदान गरे ।  





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १५:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया