क्रिकेट पूर्वाधारका लागि ४७ करोड ५० लाख, गौतमबुद्धका लागि २२ करोड

युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा क्रिकेट खेलका आठ पूर्वाधारका लागि ४७ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

१५ जेठमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि ३ अर्ब २५ करोड २५ लाख बजेट विनियोजन गरिएको थियो ।

त्यसमध्ये पूर्वाधार निर्माणतर्फ ८७ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ । जसमा क्रिकेटका पूर्वाधारका लागि मात्र साढे ४७ करोड छुट्याइएको हो ।

सबैभन्दा धेरै रकम चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि छुट्टाइएको छ ।  धुर्मुस–सुन्तली फाउण्डेसनले काम सुरु गरेर बीचमै छाडेको यो रंगशाला निर्माण जारी राख्न २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा राती पनि क्रिकेट खेल्न योग्य बनाउनका लागि फ्लडलाइट जडानका लागि १० करोड छुट्टाइँदा आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुन लागेको धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै सरकारले यो आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मूलपानी (तल्लो) क्रिकेट मैदानका लागि सात करोड तथा बाँकेको कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीसहित रंगशाला निर्माण गर्ने सरकारी योजनाका लागि तीन करोड रुपैयाँ छुट्टाइएको छ । 



भैरहवा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि डेढ करोड र पोखरा क्रिकेट रंगशाला निर्माणका लागि दुई करोड तथा महेन्द्रनगर क्रिकेट रंगशालाको मैदान, पिच तथा चेञ्जिङ रुमलगायतका निर्माणाधीन संरचना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १५:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया