थापाका ‘निर्मम’ आरोपबीच किन नरम देखिए मिश्र ?
के मिश्रले थापाका आरोप स्विकारेका हुन् ?
काठमाडौं– एक वर्षअगाडि तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीको एकता हुँदा धेरैले नेपालमा वैकल्पिक राजनीतिको नयाँ कोर्स सुरु भएको ठानेका थिए । तर, विवेकशील साझाको विभाजनसँगै वैकल्पिक राजनीतिको नेपाली अभ्यास बामे नसर्दै संकटमा परेको छ ।गत वर्ष साउन ११ गते एकता गरेका साझा र विवेकशीलका नेताबीच गम्भीर मतभेद रहेको गत साउनमा विवेकशील साझाकी नेत्री रञ्जु दर्शनाले गरेको टिव्टबाटै प्रस्ट भएको थियो । ६ महिनाअगाडि दर्शनाले ‘विवेकशील साझा गम्भीर संकटमा’ रहेको आशयको टिव्ट लेखेकी थिइन् ।यसअघि, साउन १९ गते विवेकशील साझाले प्रदेश ३ का जिल्ला संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रमा पनि पार्टीभित्रको अन्तरविरोध प्रर्दशन भएको थियो । कार्यक्रममा ठूलै नाराबाजी भएपछि कार्यक्रम नै स्थगन गर्नुपरेको थियो । संयोजक घोषणा कार्यक्रममा पनि पूर्वविवेकशीलकै कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।संयोजक छनोट कार्यक्रमा पूर्वविवेकशीलका कार्यकर्ताले असन्तुष्टि जनाएको ३ दिनपछि दर्शनाले विवेकशील साझा संकटमा रहेको संकेत गर्दै टिव्ट गरेकी थिइन् ।विवेकशील साझाभित्र चुलिँदै गएको असन्तुष्टि अन्ततः पुस १६ गते सतहमा आयो । पुस १६ गते पार्टीका एक संयोजक उज्ज्वल थापाले १८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेर पूर्वसाझा र रवीन्द्र मिश्रको नाम नलिइकनै एक दर्जन आरोप लगाए ।थापाले प्रतिवेदन सार्वजनिक गरेको ११ दिनपछि थापा समूह विवेकशील साझाबाट अलग हुने निष्कर्षसहित निर्वाचन आयोगमा विवेकशील पार्टी दर्ताका लागि निवेदन दियो ।मिश्रको कार्यशैली स्वेच्छाचारी भएको आरोप लगाउँदै थापाले प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनमा उनले किशोर थापा र सूर्यराज आचार्यलाई लक्षित गर्दै पार्टी ‘पेन्सन–पट्टावालको क्लब’ भएको आरोप लगाएका थिए । तर, पार्टी फुटको विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सूर्यराज आचार्य भक्कानिए । पार्टीभित्रका सबै पीडा सार्वजनिक गर्न चाहँदिन भन्दै आचार्यले भने, ‘यो पार्टी वैकल्पिक राजनीतिका लागि उभिएको छ, हामी त्यसका अभियन्ता हौँ भनेर बहस गर्दागर्दै एकैचोटि मोबाइलमा खबर आयो । कति पीडादायी क्षण होला ! त्यसको लागि म सबै पार्टीपंक्तिको तर्फबाट क्षमा चाहन्छु । आई एम सरी ।’ यसअघि फरकधारसँगको कुराकानीमा आचार्यले पार्टीभित्र छलफल नगरिकनै प्रतिवेदन सार्वजनिक गरेर थापाले वैकल्पिक राजनीतिको मर्ममा प्रहार गरेको बताएका थिए । थापाले स्वेच्छाचारी भएको आरोप लगाएका मिश्र भने थापा समूहप्रति नरम देखिए । थापा समूहका लागि फेसबुकमा प्रेमपत्र नै लेखेका मिश्रले थापाले अनायासै घर छाडेर गएको बताए ।आफूलाई आरोपै–आरोपमा मुछेर गएका थापाले प्रस्टीकरण दिने मौका पनि नदिएको भन्दै मिश्रले गुनासो पोखे । थापा समूहका लागि लेखिएको प्रेमपत्रमा उनले लेखेका छन्, ‘पुस ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनदहाडै व्यक्तिगत रूपमा मेरो र संगठनात्मक रूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो । तर, अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिई हिँडिहाल्नुभयो ।’  मिश्रले आफूमाथि लगाइएका आरोपको विषयमा छलफल गर्ने समय नै नदिएको बताए पनि विवेकशील नेत्री दर्शनाले भने थापाको प्रतिवेदनलाई पार्टीको केन्द्रीय समितिले बेवास्ता गरेको बताएकी थिइन् ।त्यसो त, विवेकशील साझाकी संयोजन समिति सदस्य अनुपमा यादवले फरकधारसँग भनेकी थिइन्, ‘थापाको प्रतिवेदनमा केन्द्रीय समितिमा छलफल हुन्छ भन्ने स्थितिमा हामी छैनौँ र हुन्न भन्ने स्थितिमा पनि छैनौँ ।’यादवकै आशयको कुरा गर्र्दै संयोजन समिति सदस्य मुमाराम खनालले पनि थापाको प्रतिवेदनलाई आधिकारिक नमान्ने धारणा राखेका थिए । मिश्र समूहका सदस्यले थापाको प्रतिवेदनमा छलफल नगर्ने र प्रतिवेदनलाई आधारकारिक नमान्ने बताउँदा शनिबार मिश्रले भने थापाले प्रतिवेदनमा उठाएका केही विषय सही भएको स्विकारे । थापा समूहले मिश्र समूहसँग वैकल्पिक राजनीतिको धार नै नमिलेको बताइरहँदा मिश्र भने अझै एकताप्रति आशावादी देखिएका छन् । ‘मलाई त अझै के लाग्छ भने एउटा विन्दु आउँछ, जहाँ हामी फेरि मिल्छौँ,’ पार्टी फुटेको पछिल्लो दिन शनिबार नै पार्टी फेरि एकीकरण हुने आशा व्यक्त गर्दै मिश्रले भने, ‘त्यो विन्दुबाट अझ सशक्त भएर अगाडि बढ्छौँ ।’पार्टी एकीकरणदेखि नै थापा समूह मिश्र समूहप्रति कठोर देखिए पनि मिश्रले देखाएको नरमताले उनले थापाले लगाएका आरोप स्वीकार गरेजस्तो पनि देखिएको छ । थापासँग बसेर चिया खानेदेखि रिसोर्टसम्म जाने अपेक्षासहित थापा समूहलाई प्रेमपत्र लेखेका मिश्रले आफूमाथि लागेका आरोप सही थिए भन्ने केही संकेत दिएका छन् । प्रेमपत्रमा मिश्रले लेखेका छन्, ‘छिटै बसेर चिया खाउँला । मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला । के थाहा, पुनर्मिलन भई पो हाल्छ कि । ....अन्यथा, हामीमा समयले लेराउने सुझबुझसँगै बाटो फेरि एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला ।’थापाले प्रतिवेदनमा मिश्रलाई भ्रष्ट, अपारदर्शी, स्वेच्छाचारी भएको आरोप लगाए पनि मिश्रले शनिबारको पत्रकार सम्मेलनमा आफू त्यसरी प्रत्यारोपमा उत्रेर हिलो छ्याप्ने मनस्थितिमा नरहेको बताए ।मिश्रले आरोप लगाउँदिन भने पनि उनकै समूहका मुमाराम खनालले भने फेसबुकमा थापालाई लक्ष्य गर्दै लेखेका छन्, ‘आफैँ मुख्य नेतृत्वमा छ, आफैँ पूर्णतः निष्क्रिय छ र आफैँ पूर्णतः अकर्मण्य छ । आफैँ जवाफ दिनुपर्ने ठाउँमा छ, तर उसैले प्रश्न मात्र सोध्छ ।’ ‘यदि पार्टी बिग्रिएकै हो भने उसकै निष्क्रियताले हो,’ उनले अगाडि लेखेका छन्, ‘जवाफदेहिता चाहिँदैन ? नेतृत्व गर्ने हो भने जवाफदेही होऊ । नेतृत्वले प्रश्न मात्र गर्ने होइन, उत्तर दिने हो ।’  मिश्र समूहले थापाले पार्टीभित्र प्रश्न उठाए पनि उनी पार्टीमा निष्क्रिय रहेको आरोप लगाउँदै आएका थिए । मिश्र समूहले थापा कहिले अमेरिका त कहिले विपाशनामा जाने, तर पार्टीलाई समय नदिने गरेको आरोप लगाउँदै आएका थिए । गत साउनमा पार्टी एकीकरणको १ वर्ष पुगेको अवसरमा थापाले अमेरिकाबाटै भिडियो सन्देश पठाएका थिए ।शुक्रबार फरकधारसँगको कुराकानीमा पनि खनालले विवेकशीलबाट साझामा जोडिन आएका धेरै सदस्यले पार्टीलाई समय नदिएको बताएका थिए । थापा समूहमा जागिर गर्ने र कलेज पढ्नेहरुको संख्या धेरै भएको बताउँदै उनले भनेका थिए, ‘उहाँहरुकै कारण पार्टी संगठन विस्तारमा अवरोध आएको थियो ।’मिश्र समूहका नेताले थापाले सार्वजनिक गरेका प्रतिवेदनलाई पनि व्यक्तिगत रिपोर्ट भन्दै आएका थिए । शनिबारको कार्यक्रममा भक्कानिएका आचार्यले केही समयअघि फरकधारसँग थापाको प्रतिवेदन सार्वजनिक गर्ने तौरतरिका अनुचित भएको बताएका थिए ।यता, थापा समूहका एक सदस्य गोविन्द नारायणले सामाजिक सञ्जाल फेसबुकमा मिश्र समूहसँग मिलेर सहभागितामूलक अभ्यास, मूल्य र मान्यतामा आधारित पार्टी निर्माण सम्भव नदेखिएपछि पार्टी विभाजन गर्नुपरेको बताएका छन् । विवेकशील नेपाली पुनःजागृत भएको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘विगत डेढ वर्षमा एकीकृत रुपमा सँगै जान गरिएका अधिकांश प्रयास निरर्थक भएपछि मात्र हामी यो निर्णयमा पुगेका हौँ । सहभागितामूलक लोकतन्त्रको आधारमा नागरिकद्वारा नागरिकका अपेक्षा सम्बोधन गर्न विवेकशील नेपाली पुनःजागृत भएको छ ।’३७ सदस्यीय विवेकशील साझाको केन्द्रीय समितिबाट १६ सदस्य बोकेर थापा समूहले शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको छ । विवेकशील साझा पार्टीका तीन प्रदेशसभा सदस्यमध्ये दुई रमेश पौड्याल र विराजभक्त श्रेष्ठले विवेकशील नेपाली दल रोजेका छन् ।थापा र मिश्र दुवै समूहले आफूहरु वैकल्पिक राजनीतिको मार्गमा फुल स्पिडका साथ अघि बढ्ने बताएका छन् । तर, वैकल्पिक राजनीतिका लागि भन्दै एकीकृत भएका दलमा देखिएको यो विभाजनले वैकल्पिक राजनीतिको भविष्यमाथि भने प्रश्न उब्जिएको छ । 




  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार १:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया