नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदै

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत  संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।  

नेपालमा १ माघ २०३६ देखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।    यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो । यही  क्षेत्रबाट पुनःजागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । 

आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।  
  
१ माघमा मनाइने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले १ माघलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।  



योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् १ माघलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । 

हाल नेपालमा १ माघमा राष्ट्रिय र २१ जुनमा अन्तर्राष्टिय योग दिवस मनाइन्छ । 



  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ६:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया