'विदेशमा रहेका नेपालीले मतदान गर्न निर्वाचन कानुनमा कम्तिमा ५ ठाउँमा परिवर्तन गर्नुपर्ने'

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनसम्बन्धी कानुनमा भएका केही व्यवस्थालाई सच्याउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार विदेशमा रहेका नेपालीले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुगेका महामन्त्री थापाले कानुनमा भएको व्यवस्थामा कम्तिमा पनि ५ ठाउँमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए । 

उनले कानुनमा भएका केही व्यवस्थालाई सच्याउन सके विदेशमा रहेका नेपालीको नाम पनि मतदाता नामावलीमा समावेश गर्नसक्ने भन्दै अबको ८/१० दिनभित्रमा निर्वाचन ऐनको विषय संसदमा पेस गर्ने प्रतिवद्धता जनाए । 

महामन्त्री थापाले विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाका लागि चाँडै नै राजनीतिक समझदारी कायम गरी संसदमा पारित गर्ने कुरामा आफ्नाे भूमिका रहने बताए । 

उनले सकेसम्म आगामी १ साउनबाट नै नेपाल बाहिर रहेका नेपाली नाम मतदाता नामावलीमा टिपाउने कुरामा पनि छलफल भएको बताए । उनले विदेशमा रहेका नेपालीको नाम मतदाता नामावलीमा टिपाउनका लागि छलफल सुरु गर्ने बताए ।

महामन्त्री थापाले बुधबारबाट काठमाडौंमा स्थानीयका लागि छुट्टै मतदाता नामावली संकलन केन्द्र बनाइ बाहिरी जिल्लाका लागि फरक मतदाता नामावली संकलन केन्द्रको स्थापना गर्ने बारेमा छलफल भएको पनि बताए । उनले स्थानीय तहमा नै नामावली संकलन गर्ने कुरामा पनि छलफल भइरहेको बताए । 



महामन्त्री थापाले बाहिरी र काठमाडौंका सबैलाई एकै ठाउँमा मतदाता नामावली संकलनको कार्य गर्दा भीड भएकोले त्यसलाई मध्यनजर गरेर केही स्थानमा बाहिरी जिल्लाका लागि मतदाता नामावली संकलन कार्यालय बनाइने पनि बताए । 

उनले निर्वाचनलाई निर्माण गरिने आचारसंहिता कसैले पन मान्ने नगरेको उल्लेख गर्दै सबैले मान्ने किसिमको आचारसंहिता बनाएर कडाइका साथ लागू गर्नुपर्ने बारेमा पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल भएको बताए । 



उनले आचारसंहिताको सन्दर्भमा अव्यावहारिक कुरालाई पहिल्यै हटाएर निर्वाचनलाई मितव्ययी बनाउने, प्रभावकारी बनाउने सन्दर्भमा पनि छलफल भएको बताए । उनले निर्वाचनको तोकिएको सीमाअनुसार खर्च हुने नगरेको भन्दै साँच्चिकै निर्वाचनको खर्च घटाउन गर्न सकिने कामको बारेमा छलफल भएको बताए ।

त्यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीको मतदानको अधिकारसँग सम्बन्धित विषयमा छलफल भएको बताए । उनले विदेशमा रहेका नेपालीले मताधिकारको प्रयोग गर्न पाउने कुरालाई निर्णयमा पुर्‍याउनका लागि छलफल गरेको बताए । 

महामन्त्री शर्माले नेपाल बाहिर रहेका ४० लाख नेपालीको भावना गाँस्ने कुरालाई मध्यनजर गरेर यो काम अघि बढाइएको बताए । उनले विदेशमा बसेका नेपालीको भोट चल्ने दिन बनाउन यो काम थालिएको बताए ।
 
कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले आज निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त थपलियासँग विदेशमा रहेका नेपालीहरुले पनि आगामी निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराए । 

महामन्त्री शर्माले भेटमा प्रमुख आयुक्त थपलियाले निर्वाचन ऐनलाई सच्याउने कुरामा संसदमा राजनीतिक दलहरूसँग समझदारी गरी पेस गर्न र पास गर्ने वातावरण मिलाइदिन आग्रह गरेको बताए ।

  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १९:५२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया