माधव नेपालले मन्त्रीहरूलाई भने - आज-भोलिमा मन्त्रिपरिषद् फेरबदल हुन्छ, पार्टीको निर्णय कार्यान्वयनमा लाग्नुहोस्

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको पार्टीको पोलिटब्युरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका हुन् । उनले शनिबारसम्ममा मन्त्रीहरू हेरफेर भइसक्ने पनि बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताएको पनि जानकारी दिए । 

‘मन्त्रीहरुका सन्दर्भमा उठेका प्रश्नहरुमा अध्यक्षले उत्तर दिँदै बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने । आज, भोलिभित्रमा कार्यान्वयन भइसक्ने जस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ र यसको अन्तिम निर्णय भोलि केन्द्रीय कमिटीको बैठकले यसबारेमा त्यहाँ पनि उठेका प्रश्नहरुको उत्तर दिँदा यसको ठोस कुरा म भोलि बताउने छु भनेर अध्यक्षले भन्नुभएको छ । तर हाम्रो पूर्ववत् निर्णय, अडानलाई परिवर्तन गर्ने कुरा उहाँले भोलि बोल्ने होइन कि केन्द्रिय कमिटीको बैठक भोलि बसिरहेको अवस्थामा आजै मैले किन बोलिहालौँ भन्दै उहाँले हामीले गरेको निर्णय तपाईंहरु कार्यान्वयन गर्न आफैँ लाग्नुहोस् भनेर आज मन्त्रीहरुलाई सम्झाउनुभएको छ,’ उनले भने ।

अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने बताए । उनले गठबन्धनले आफूहरुलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिनेगरी तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए  । 

‘बैठकमा आम निर्वाचनको तयारीका लागि अध्यक्षले जोड गर्दै हाम्रो पार्टी गठबन्धनलाई प्राथमिकता पनि दिन्छ । तर पहिलेको जस्तो गठबन्धन मुख्यकुरा हो भन्दैन । गठबन्धनले हामीलाई मुख्य एजेण्डा बनाउँछ कि बनाउँदैन भन्ने कुरामा पनि उत्तिकै ध्यान दिन्छ । र देशका सबै निर्वाचन क्षेत्रहरुमा आफ्नो उम्मेदवारी उठाउनेगरी आफ्नो तयारी गरेर लाग्दछ । लाग्नुपर्दछ । तपाई कार्यकर्ताहरु लाग्नुस् भनेर पनि आह्वान गर्नुभएको छ’ उनले भने ।

अध्यक्ष नेपालले विगतमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको व्यवहारलाई सुधार गर्न सकेमा गठबन्धनले बढी जित हासिल गर्ने बताए । एकीकृत समाजवादीले नेपाली कांग्रेस र माओवादी केन्द्रले विगतका गल्ती नदोहोर्‍याओस् भन्नेमा जोड दिएको अध्यक्ष नेपालको भनाइ थियो । 



प्रवक्ता खतिवडाले भने, – ‘नेकपा(माओवादी केन्द्र), नेपाली काँग्रेस आदिले गरेका विगतमा गरेका व्यवहारहरुलाई करेक्शन गरेपछि मात्रै गठबन्धनले बढी सशक्तता प्राप्त गर्छ र गठबन्धनले बढी विजय हासिल गर्नसक्छ । उहाँहरुले आफूलाई करेक्शन गर्नुहोस् । विगतका गल्ती नदोहोर्‍याउनुहोस् भन्ने कुरातर्फ हाम्रो पार्टीले सबभन्दा बढी फोकस गरेको छ ।’

अध्यक्ष नेपालले देश अन्तर्राष्ट्रिय खेल मैदान बन्न लागिरहेको भन्दै देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीहरुले आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । असंलग्न परराष्ट्र नीतिमाथि बाधा पुग्ने चिजहरुबाट जोगाउनको निम्ति पार्टीलाई परिचालित गर्नुपर्ने अध्यक्ष नेपालको धारणा रहेको उनले बताए ।



नेकपा (एकीकृत समाजवादी) ले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

 

  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १९:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया