रामजानकी मावि झिटकहियाका प्रअ महरामाथि दुर्व्यवहार

धनुषाको औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहियाका प्रधानाध्यापकलाई कालोमोसो गरी दुर्व्यवहार गरिएको छ । शनिबार आयोजित अभिभावक भेलामा गैर–अभिभावकको भिडले प्रधानाध्यापक मदन महरामाथि कालोमोसो दल्दै दुर्व्यवहार गरेको हो ।

सो गाउँपालिकाका निवर्तमान अध्यक्ष ब्रम्हदेव यादव निकटका व्यक्ति रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरामाथी कालोमोसो गरेको एक अभिभावकले बताए । 

विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर यादवले प्रधानाध्यापक महरामाथि गैर लोकतान्त्रिक शैलीमा हातपात गर्नुका साथै अभद्र व्यवहार गरेको जनाइएको छ । सोही क्रममा विद्यालयका कार्यालय सहयोगी जितो यादवले प्रधानाध्यापकलाई बचाउन खोज्दा उनीमाथि पनि कुटपिट गरिएको बताइएको छ । 

प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मर्मतसम्भारका लागि प्राप्त ३० लाख र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँ कुन हिसाबले सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि आयोजित अभिभावक भेलामा अर्कै विषयलाई मुद्दा बनाएर गैरअभिभावक रामनाथ यादव र सुजित यादव कुटपिटमा उत्रेको प्रधानाध्यापक महराले बताए । 

यसैबीच, शैक्षिक संस्थाभित्रका आन्तरिक गतिविधिमा गैर–अभिभावबाट गरिने हस्तक्षेप अराजक क्रियाकलाप बन्द गर्न नेपाल शिक्षक संघ धनुषाले माग गरेको छ ।

घटनाको विद्यालय, शिक्षक, अभिभावकले समेत भत्र्सना गर्दै दोषी उपर कारवाहीको माग अघि सारेका छन् भने पीडित प्रधानाध्यापक महराले दोषीमाथि कारवाहीको माग गर्दै आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन लागेका छन् ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १२:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया