प्रतिनिधिसभाको शून्य समयमा सांसदले उटाए उपसभामुखदेखि हैजासम्मका विषय
फाइल तस्वीर

प्रतिनिधिसभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको पद लामो समयदेखि खाली भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरिन् । उनले यसपालिको स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानुन संशोधन गरेर भए पनि खाली ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गरिन् । 

प्रतिनिधि सभा सदस्य आशाकुमारी विकले गत ३० कात्तिकमा बझाङमा आएको वर्षाले ११ सय घर परिवार विस्थापित भएको भन्दै पूर्ण क्षति भएका घरहरु अझै बन्न नसकेकोप्रति सरकारको जवाफ माग गरिन् । उनले विपद् व्यवस्थापनमा सरकारको तयारी के छ त्यसको पनि जवाफ माग गरिन् ।

प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्माले नागरिकता विधेयक पास नहुँदा कतिपय नागरिकले देशभित्रै अनागरिक सरह कष्टकर जीवन बाँच्नुपरेको बताइन् । उनले संसदको चालु अधिवेशनमै नागरिकता विधेयक पारित गर्न माग गरिन् ।

प्रतिनिधिसभा सदस्य कलिला खातुनले काठमाडौंमा हैजा फैलिएको समाचारहरु आएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले गत १४ जेठमा बजेट तयारीका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिहरुको हस्तक्षेप भएको भन्दै अर्थ मन्त्रालयको सो दिनको फुटेज सार्वजनिक गर्न माग गरे ।



प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए । उनले सांसदलाई पनि विपद् अनुगमनका काममा प्रत्यक्ष सहभागी हुन आग्रह गरे । उनले नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक रुपमा हुने पहिरोको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सरकारसँग माग गरे ।

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रास्ताव संसदीय समितिमा लगेर छानबिन र सुनुवाई हुनुपर्ने बताए । उनले महाअभियोग प्रस्ताव समितिमा लैजान नसक्नु संसदको असक्षमता भएको टिप्पणी गरे ।



प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले बजारमा महंगी बढेकाले बजारमा हुने कालाबजारी र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौवाले बलात्कारमा संलग्न राजनीतिक पहुँचवाला व्यक्ति जोडिएको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भएको बताइन् । मुद्दा कमजोर  बनाउन नमान्ने सरकारी वकिल संगीता थोकरलाई सरुवा गरिएको उल्लेख गर्दै उहाँले सरुवा बदर गर्न माग गरिन् । उनले महान्यायाधिवक्ता बलात्कारको अभियुक्तलाई जोगाउन लागेको भन्दै महान्यायाधिवक्ताको राजीनामा माग गरिन् ।

प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले बजेट बनाउने क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएकाले अर्थमन्त्रीले अविलम्ब राजीनामा गर्नुपर्ने माग गरिन् । उनले सरकारले सुशासनको प्रत्याभूति हुने गरी काम गर्न नसकेको भन्दै सुशासन प्रत्याभूति हुने गरी काम हुनुपर्ने धारणा राखिन् । 

  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १४:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया