सिसडोल–बञ्चरेडाँडा बाटो मर्मतका कारण उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले मंगलबार र बुधबार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । 

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउन–जानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो ।

सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डंगुर पार गर्नुपर्ने बाध्यता छ । वर्षाको समय सुरु भएसँगै फोहर कुहिन थालेको छ । 

कुहिएको फोहर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । 

निरन्तर परेको पानीले काठमाडौंदेखि अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहरका गाडी जान सकेका छैनन् । 

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक वर्ष वर्षात्को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।  



गत फागुनदेखि जेठ सम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । 

सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बनेपनि बाटोको कारण सहज भने भएको छैन ।  



यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहर संकलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक पाँच सय जरिवाना गरिनेछ ।

  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १७:३०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया