कोइराला पक्षको निष्कर्ष : सरकारमाथि भ्रष्टाचार आरोप लाग्यो, केन्द्रीय समितिमा गम्भीर समीक्षा गर्नुपर्छ
फाइल तस्वीर

सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भोलि (सोमबार) बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रीय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ । 

त्यसैगरी पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ । स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेशसभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई बृहत्त बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए । 

उनले भने, ‘पार्टीलाई विधिवत तरिकाले चलाउने कुरामा पनि केन्दीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजदुत बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने र गठबन्धनका बारेमा पनि अझ बृहत्तर रूपमा पार्टीलाई फाइदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो । पार्टीको भ्रातृ संस्थादेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ ।’

बैठकमा कोइराला पक्षले पार्टीको भ्रातृ संस्था सबैको पुनर्गठन गर्न र विभागलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दबाव दिने निर्णय गरेको छ । पार्टीको भ्रातृ संस्था र विभागलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले बताए ।



बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ । 

पार्टीको विधानअनुसार विभागसमेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ । नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक भोली दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।   



  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १७:१०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया