म्यानचेस्टर युनाइटेडका प्रशिक्षकले रोनाल्डोलाई गाली गरेपछि...

म्यानचेस्टर युनाइटेडका नवनियुक्त प्रशिक्षक एरिक टेन हागले प्रि–सिजनको घटनालाई लिएर टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफूले गाली गरेको बताएका छन् । 

गत आइतबार युनाइटेडले ओल्ड ट्राफोर्डमा रायो भ्यालेकानोसँग मैत्रीपूर्ण खेलको दोस्रो हाफ चलिरहँदा रोनाल्डोलगायत केही खेलाडी मैदान छाडेर बाहिरिएका थिए । 

खेलमा सुरुवात गरेका रोनाल्डोले कमजोर प्रदर्शन गरेपछि दोस्रो हाफमा परिवर्तन भएका थिए । दोस्रो हाफमा खेल्न नपाएपछि रोनाल्डो र त्यस दिनको खेलका लागि टोलीमा नरहेका केही खेलाडी मैदान छोडेर गएको खुलासा भएको थियो ।

प्रिमियर लिगको पहिलो खेलको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा प्रशिक्षक हागले यसबारे रोनाल्डोलाई आफूले गाली गरेको बताए। ‘मैले यसबारे टोलीमा रहेका खेलाडीलाई प्रष्ट भनेको छु, आउने दिनमा यसलाई सच्याउन भने र हामी अघि बढ्यौं’, उनले भने ।

रोनाल्डोसँग यस विषयमा कसरी कुरा भयो भन्ने प्रश्नमा टेन हाग केही रिसाएर भने, ‘यसको मतलब के हो? अब मैले को–को खेलाडी गए, सबैको बारेमा एक–एक भन्नुपर्यो? अन्य खेलाडी पनि बाहिरिएका थिए, तर रोनाल्डोलाई मात्र किन अघि सारियो? यो ठीक होइन । रोनाल्डोसँगै अन्य खेलाडीले पनि छोडेका छन् ।’ 

रोनाल्डो र अन्य खेलाडीले मैदान छोड्नु ठिक थियो भन्ने प्रश्नमा टेन हागले स्पष्ट उत्तर दिन चाहेनन् ।  ‘मलाई लाग्छ हामीले यसबारे चाहिने सबै बोलेका छौं, त्यो ठीक थिएन । अब हामी अघि हेर्न चाहन्छौं’, उनले थपे ।



रोनाल्डोले प्रि–सिजनमा म्यानचेस्टर युनाइटेडको अस्ट्रेलिया भ्रमण र प्रशिक्षण छुटाएका थिए । रोनाल्डोले क्लब छाड्न चाहे पनि उनलाई लिन इच्छुक क्लब नहुँदा उनी पुनः प्रशिक्षणमा सामेल भएका थिए । 

टेन हाग रोनाल्डो क्लबमा आउँदा आफू खुसी रहेको बताएका छन् । ‘म धेरै खुसी छु । मैले यसअघि पनि भनेको थिएँ । रोनाल्डो उत्कृष्ट फरवार्ड हुन् । उनी टोलीमा रहनु हाम्रो योजनाको पाटो हो’, टेन हागले थपे ।    



  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ११:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया