स्वतन्त्र पत्रकारिताको पक्षमा बहस आवश्यकः मुख्यमन्त्री पोख्रेल

घोराही– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रेस बलियो नभए लोकतन्त्र पनि बलियो नहुने बताएका छन् । लोकतन्त्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै उनले मिडियाविना लोकतन्त्र धरापमा पर्ने धारणा राखे ।

लोकतन्त्र सुरक्षित गर्न नसके मिडिया पनि अपांगजस्तै बन्ने उल्लेख गर्दै पोखरेलले गलत नियतले सञ्चार माध्यममा लगानी गर्नेलाई रोक्न पहल गर्नुपर्ने बताए । पत्रकार महासंघ प्रदेश नम्बर ५ ले आयोजना गरेको दुईदिने प्रादेशिक सञ्चार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले अब पत्रकार महासंघले स्वतन्त्र पत्रकारिताको पक्षमा व्यापक बहस चलाउनुपर्ने आवश्यकता औँल्याए ।

नियतका साथ नभई मुद्दा र विषयवस्तुको आधारमा सञ्चार माध्यममा समाचार र सूचना आउनुपर्ने उनको धारणा थियो । ‘एउटा पत्रकारले सम्पादकको दबाबविना र एउटा सम्पादकले लगानीकर्ताको प्रभावविना समाचार लेख्ने हैसियत राख्छ कि राख्दैन ? उनले प्रश्न गर्दै भने, ‘सञ्चार क्षेत्रलाई लगानीकर्ताको प्रभावबाट मुक्त गराउन सके पत्रकार महासंघको गरिमा बढेर जान्छ ।’ 

उनले पछिल्लो समय विज्ञापनसँग समाचार साटिन थालेकोप्रति चिन्ता व्यक्त गरे । महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले राष्ट्रियता महासंघको पहिलो प्राथमिकता रहने बताए । 

दुई दिनसम्म चल्ने कार्यक्रममा प्रादेशिक संरचनामा मिडिया, सामुदायिक रेडियोसहित पत्रकार र पत्रकारिता क्षेत्रबारे छलफल हुने बताइएको छ । कार्यक्रम प्रदेश नम्बर ५ का १२ जिल्लाका पत्रकारको सहभागिता छ । 





  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार २०:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया