तीन महिनामा ब्याटिङ समस्या सुधार हुन्छ : प्रशिक्षक प्रभाकर

नव नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले २/३ महिना भित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् । मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २/३ महिनामा नै सुधार  गर्ने बताएका हुन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न उनी शनिबार नेपाल आएका थिए । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आइतबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा भएको कमी–कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे । 

प्रभाकरले नेपाली खेलाडीले आइपिएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए । 

विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरैभन्दा धेरै खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए । 

नेपाली टोलीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आए पनि धेरैजसो खेलमा कमजोर ब्याटिङका कारण पराजित हुने गरेको प्रशस्तै उदाहरणहरु छन् । तर पछिल्लो समय टोलीभित्र नै विवाद भइरहेको अवस्थामा प्रशिक्षक प्रभाकरलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने चुनौती छ । 

खेलाडीबीच गुट–उपगुट पनि टोलीको अर्को समस्या रहेको छ । यस्तै, अवस्थामा कसरी अगाडी बढाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रशिक्षक प्रभाकारले परिवारभित्रको पीडा सबैको पीडा हुने र समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । यस्तो समस्या सबैतिर हुने गरेको र यसलाई समाधान गर्न जिम्मेवारी दिएको अवस्थामा समस्या सुल्झिने उनले बताए । 



अहिलेको अवस्थामा नेपाली टोलीभित्र युवा खेलाडीको बाहुल्यता छ । खेलाडीको औसत उमेर २२ वर्ष भएको भन्दै उनीहरुका लागि सिकाइ महत्वपूर्ण हुने प्रशिक्षकको बुझाइ छ । यस्तै, उमेर समूहले छिटो सिक्ने र प्ररिणाम पनि चाँडै देखाउने विश्वास प्रशिक्षक प्रभाकर व्यक्त गरे । 

यसअघिका प्रशिक्षक पुबुदु दाशानायकेको राजीनामापछि प्रभाकार प्रशिक्षकका रुपमा नेपाल आएका हुन् । दाशानायके अहिले क्यानेडियन प्रशिक्षकमा नियुक्त भइसकेका छन् । 
 



  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १८:३३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया