ठूला उद्योगीले नै तिर्दैनन् बिजुलीको बिल, राजकुमार गोल्छाको रघुपति जुटमिलले मात्रै १९ करोड तिर्न बाँकी

विराटनगरका ठूला र प्रतिष्ठित उद्योगीले बिजुलीको बिल लामो समयदेखि नतिर्ने गरेको पाइएको छ । प्रतिष्ठित उद्योगीदेखि विभिन्न व्यक्ति र संस्थाले लामो समयदेखि बिजुलीको बिल नतिरेको पाइएको हो । 

नेपालकै प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका राजकुमार गोल्छा सञ्चालक रहेको रघुपति जुट मिलले मात्र १९ करोडभन्दा बढी बिजुलीको बिल तिर्न बाँकी देखिएको छ । 

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका लेखा अधिकृत यामकर्ण बस्नेतले रघुपति जुटमिलले १९ करोड १५ लाख ६५ हजार ६२८ रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिए । 

उनका अनुसार रघुपति जुटमिलले डेडिकेटेड फिडर सेवा प्रयोगबापतको उक्त रकम हालसम्म तिरेको छैन । पछिल्लो समय नियमित बिल तिरे पनि अगाडिको तिर्न बक्यौता रहेको बस्नेतले बताए । 

सो विषयमा बुझ्न खोज्दा गोल्छाले कुनै प्रतिकृया दिन मानेनन् । गोल्छासँग पटक–पटक सम्पर्क गर्न खोजेपछि उनी पन्छिए । ‘भरे भोलि कुरा गरौँला, अहिले म बिजी छु । पछि सम्पर्क गर्नुस्’ उनले भने । 

रघुपति जुट मिलले मात्र नभएर धेरै व्यक्ति, उद्योग र अस्पताल र विभिन्न संघसंस्थाले प्राधिकरणलाई बिजुली उपभोग गरेबापतको शुल्क तिर्न बाँकी छ । विराटनगरकै अर्का प्रतिष्ठित उद्योगी मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुण्दडाको बाबा जुट मिलले पनि करोडौँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । 



मुण्दडाको जुट मिलले प्राधिकरणलाई ५ करोड ११ लाख १७ हजार ४७१ रुपैयाँ तिर्न बाँकी देखिएको छ । यद्यपि मुण्दडाले प्राधिकरणविरुद्ध मुद्दा दर्ता दायर गरेका छन् । सो मुद्दा विचाराधीन अवस्थामा छ । 

त्यस्तै, विराटनगर जुट मिलले एक करोड १० लाख ६९ हजार १२० रुपैयाँ, सञ्जेस कोइरालाले २४ लाख ७८ हजार ९७३, रेल तथा मेट्रो विकास आयोजना भेडियारीले १६ लाख ४४ हजार २६३ रुपैयाँ तिर्न बाँकी रहेको लेखा अधिकृत बस्नेतले जानकारी दिए । 



त्यस्तै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकारससमेत रहेका मोती दुगड सञ्चालक रहेको नेशनल पोलिमर्सको १६ लाख ६ हजार ५०८ रुपैयाँ बक्यौता रहेकोमा सो रकम तिरिसकेको लेखा अधिकृत बस्नेतले बताए । 

त्यस्तै, गरिब दास यादवको १० लाख १६ हजार ४७८, जिल्ला प्रहरी कार्यालय मोरङको ८ लाख ६० हजार २५२, निप्पोन फार्मेसिटिकल्स प्रालिको ६ लाख ४३ हजार ७९५, कुनै समयको चर्चित हिमालय हलको ६ लाख २३ हजार ५६४, शुभद्रा घिमिरेको ५ लाख ३९ हजार ८० र सञ्जीवनी अस्पतालको ५ लाख २४ हजार ७४४ बक्यौता रहेको प्राधिकरण विराटनगर वितरण केन्द्रले जनाएको छ । 

त्यसैगरी, जिल्ला खेलकुद विकास समिति मोरङले ५ लाख १९ हजार ७४२, महेन्द्र चोकस्थित म्याक्स इन्टरनेशनल अस्पता प्रालिले ५ लाख ३ हजार ९८८, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रले ४ लाख ४७ हजार ६०१, संगीता कुमारी चौधरीले ३ लाख ९२ हजार ९४, नेपाल एप्रल्स प्रालिले ३ लाख ८५ हजार ७०९, उमेश रौनियारले ३ लाख ४४ हजार ५८९, प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ लाख ३४ हजार २७० र श्रीपाइप इन्डस्ट्रिजले ३ लाख १५ हजार ४३८ रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको लेखा अधिकृत बस्नेतले जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १४:१५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया