प्यालेस्टिनी प्रधानमन्त्रीले गरे सरकार विघटनकाे प्रस्ताव

प्यालेस्टाइन– प्यालेस्टिनी राष्ट्रपति महमद अब्बासको नयाँ सरकार बनाउने पहलमा सघाउन प्रधानमन्त्री रमी हमदल्लाले सोमबार राजीनामा प्रस्ताव गरेका छन् । 

‘हमदल्लाले प्यालेस्टिनी राजनीतिक एवं सैन्य समूह फताहको केन्द्रीय समितिको नयाँ सरकार बनाउने सुझाबलाई स्वीकार गर्दै सरकार विघटनका लागि राष्ट्रपति महमुद अब्बासलाई अनुरोध गर्नुभएको छ,’ सरकारका प्रवक्ता युसेफ अल–महमुदले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अब्बासको फताह पार्टीले आइतबार साँझ नयाँ राष्ट्रिय संयुक्त सरकारको गठन गर्ने र यसमा प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसन (पिएलओ)लाई समेत समावेश गर्ने प्रस्ताव प्रधानमन्त्रीलाई पठाएको थियो । 

फताहले नयाँ सरकारको प्रस्ताव गर्ने निर्णय इस्लामिक हमास आन्दोलनमा आबद्ध समूहसँगको पुनर्मिलन वार्तापछि आएको हो । गाजा क्षेत्रमा विगत १२ वर्षदेखि शासन गर्दै आएको इस्लामिक हमास आन्दोलनसँगको वार्ता असफल भएपछि फताहले नयाँ संयुक्त गठबन्धन सरकार निर्माण गर्ने जनाएको हो । 

गत डिसेम्बरमा प्यालेस्टिनी संवैधानिक अदालतले प्यालेस्टिनी विधायन परिषद्लाई विघटन गरेको थियो । आगामी ६ महिनामा संसदीय निर्वाचन गर्ने फताहको तयारी छ । 

नयाँ सरकारको प्रधानमन्त्रीको घोषणा पिएलओसँगको सल्लाहपछि गरिने फताहका उप–प्रमुख महमुद अलोउलले बताएका छन् । 



फताहको केन्द्रीय समितिले पिएलओका सदस्यसँग नयाँ समीकरणका लागि छलफल चलाएको तर नयाँ सरकार गठन र आगामी निर्वाचनबीच कुनै सम्बन्ध नरहेको फताहले जनाएको छ । 

यसैबीच, हमासले भने फताहको नयाँ सरकार बनाउने प्रयासको आलोचना गरेको छ । उसले नयाँ सरकार राष्ट्रिय सहमतिको सरकार हुन नसक्ने बताएको छ । 



सिन्ह्वा न्युज एजेन्सीसँगको कुराकानीमा हमासका प्रवक्ता फावजी बारहउमले फताहलाई आन्तरिक विभाजन गर्न खोजेको बताएका छन् । निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्दा सबै दल र समूहको प्रतिनिधित्व गराइनुपर्नेमा हमासको जोड छ । 

हमदल्लाको नेतृत्वमा रहेको वर्तमान सरकार सन् २०१४ मा पिएलओका केही समूहहरू र हमासबीच राष्ट्रिय मेलमिलाप सम्झौतापछि बनेको थियो ।

  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १९:२९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया